काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० कार्तिक २०८२
अ+
अ-

काठमाडौं। भारत लगेर गरिब तथा दलित नेपालीको मिर्गौला झिकेको आरोपमा पक्राउ परेका ६ जना व्यक्ति कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले आइतबार मिर्गौला झिकेको आरोप लागेका ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

कारागार चलान भएकामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ का ३७ वर्षीय श्यामकृष्ण भण्डारी छन्। उनी दिल्लीमा बसेर नेपालीहरूको मिर्गौला झिक्ने गिरोहका नाइके रहेको मानव बेचबिखन ब्युरोले जनाएको छ।

कारागार चलान भएका अन्यमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-२ का ३५ वर्षीय सुजन भारती, काभ्रे पाँचखाल नगरपालिका-१० का ३५ वर्षीय राजुकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समिर नेपाली, बेलकोटगढी नगरपालिका-४ का ४७ वर्षीय राकेश नेपाली र रौतहट चन्द्रपुर नगरपालिका-३ का ४३ वर्षीय राजु घलान रहेका छन्।

उनीहरूले भारतमा रोजगारी तलबको प्रलोभनमा पारेर नेपालीलाई लैजाने गर्थे। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार त्यहाँ लगेपछि शारीरिक परीक्षण गराई मिर्गौला झिकेर नेपाल पठाउँथे।

“कतिपयलाई मिर्गौला झिकेबापत रकम दिएको, कतिलाई नदिएको देखिन्छ,” कुँवरले भने। उनीहरूलाई प्रहरीले साउन र भदौमा पक्राउ गरी अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका राजकुमार परियार। सुजन भारती, राकेश नेपाली, समिर नेपाली र राजु घलान जेन-जी आन्दोलनका क्रममा फरार भएका थिए। असोज २३ गते उनीहरूलाई ब्युरोले पुनस् पक्राउ गरेको थियो।