काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। हालै केही दिनदेखि धेरै एन्ड्रोइड प्रयोगकर्ताहरूको फोनमा कल गर्ने र कल आउने समयमा देखिने इन्टरफेस अर्थात् फोन एपको डिजाइन परिवर्तन भएको देखिएको छ। यो परिवर्तनले धेरै प्रयोगकर्ताहरूलाई अलमलमा पार्दै सामाजिक सञ्जालमा असन्तुष्टि समेत व्यक्त गरिरहेका छन्।

प्रयोगकर्ताहरूले कुनै सेटिङ नछोएको भए पनि फोनको इन्टरफेस आफैं परिवर्तन भएको अनुभव गरेपछि धेरैले यसलाई ह्याक वा समस्या ठानेका छन्, तर यो परिवर्तन गुगलको नयाँ अपडेटका कारण भएको हो।

गुगलले मे २०२५ मा ‘मटेरियल थ्रीडी एक्सप्रेसिव’ नामक अपडेट ल्याउने घोषणा गरेको थियो। यही अपडेटपछि फोनको कलिङ एपमा देखिने डिजाइन र इन्टरफेस बदलिएको हो । सुरुमा यो अपडेट केही प्रयोगकर्तालाई दिइएको थियो भने अहिले क्रमशः सबैमा लागू भइसकेको छ।

गुगलको नयाँ डिजाइनमा प्रयोगकर्ताहरूका लागि कन्ट्याक्ट, ‘इनकमिङ कल स्क्रिन’ र ‘इन-कल’ बटनहरूमा महत्वपूर्ण परिवर्तन गरिएको छ।

‘कन्ट्याक्ट’ ट्याबमा अब पहिले देखिने ‘फेभरेट्स’ र ‘रिसेन्ट’ नम्बरहरू एउटै ट्याबमा मिसाइएका छन् । त्यसैगरी, एउटै नम्बरबाट आएका धेरै कलहरू पहिले जस्तो समूहगत भएर नदेखी, अब समयक्रमअनुसार अलग–अलग देखिन्छन्। गुगलका अनुसार यसरी हेर्दा कल हिस्ट्री बुझ्न अझ सहज हुन्छ।

साथै, ‘इनकमिङ कल’ र ‘कल’ भइरहेको बेला देखिने इन्टरफेस पनि प्रयोगकर्ताको प्रतिक्रिया अनुसार परिवर्तन गरिएको छ। नयाँ डिजाइनले मोबाइल खल्तीबाट निकाल्दा अनायासै कल उठाउने वा काटिने समस्या कम गर्ने कम्पनीको दाबी छ।

यो परिवर्तन ह्याक वा सुरक्षा जोखिमसँग सम्बन्धित नरहेको र प्रयोगकर्ताको डाटामा कुनै असर नपर्ने गुगलले प्रष्ट पारेका छन् । यो परिवर्तन, केवल फोन एपलाई सरल, उपयोगी र सुरक्षित बनाउन गरिएको हो।

फोन सेटिङमा गएर ‘अनइन्स्टल अपडेट’ गर्ने विकल्प रोजेपछि डायलर अघिल्लो जस्तै पुरानै स्टाइलमा फर्कन्छ । वा गुगल प्ले स्टोरमा गएर ‘गुगल कन्ट्याक्ट’ एप खोजेर पनि अपडेट अनइन्स्टल गरी डायलरलाई पुरानै स्वरुपमा फर्काउन सक्नेछन् ।

त्यसैगरी, गुगलले आफ्नो फोन एपमा थप एक नयाँ सुविधा ल्याउने तयारी गरिरहेको छ, जसअनुसार इनकमिङ कल स्क्रिनमा सम्पर्क व्यक्तिको फुल–स्क्रिन तस्वीर देखिने व्यवस्था हुनेछ।