काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा दक्षिण कोरियाबीचको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकताका सम्बन्धमा छलफल भएको छ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा दक्षिण कोरिया सरकारबाट प्राप्त सहयोगका सम्बन्धमा उल्लेख गरे। उनले नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभार व्यक्त गरे।

यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिको साथै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको पनि जानकारी गराए। खरेलले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले लामो समयदेखि नेपाली युवालाई रोजगारी प्रदान गरिरहेकामा सराहाना गरे।

त्यस अवसरमा दक्षिण कोरियाका राजदूत पार्क तइ योङले मन्त्री खरेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए। त्यस अवसरमा राजदूत योङले नेपालमा दक्षिण कोरियाली सहयोगमा सञ्चालित परियोजनाहरुको अवस्था तथा नेपालमा कोरियाली सरकारको सहयोगको प्राथमिकताका विषयमा जानकारी गराएका थिए। उनले नेपालको शिक्षा, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमार्फत आर्थिक रुपान्तरण एवं समृद्धिका लागि सहयोग गर्न कोरिया तत्पर रहेको बताए।

उनले दक्षिण कोरिया सरकार सदैव नेपालको विकासका लागि नेपालले तय गरेका प्राथमिकताका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न उत्सुक र प्रतिबद्ध रहेको समेत जानकारी गराए। राजदूत योङले नेपाली युवा मिहिनेती र इमानदार रहेको तथा पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने उत्कृष्ट मुलुक कोरिया रहेको पनि उल्लेख गरे। भेटमा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो।