काठमाडौँ। देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ।
नेपाल प्रहरीका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही सडकखण्डमा यातायात अवरुद्ध छ।
कोशी प्रदेशमा, संखुवासभाको भोटखोला गाउँपालिका– ४ बरुणखोला क्षेत्रमा कोशी राजमार्ग अविरल वर्षाका कारण प्रभावित भएको छ। सोही प्रदेशको धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ चारखोले क्षेत्रमा कोशी लोकमार्ग आंशिक रूपमा खुला भए पनि यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा, रसुवाको गोसाइकुण्ड गाउँपालिका– २ स्थित नेपाल–चीन नाका जोड्ने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले अन्तरदेशीय व्यापार र आवागमनमा असर पुगेको छ।
गण्डकी प्रदेशको मुस्ताङमा पहिरोका कारण वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र ताङ्वे बिचको कालाभीर नजिक जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।