काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिमा केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले मंसिरमै पार्टीको नियमित १५औँ महाधिवेशन गर्नुपर्छ भन्दै नेता डा. शेखर कोइराला निरन्तर बोल्दै आएको बताएका छन्।
केन्द्रीय समिति बैठकमा बुधबार उनले धेरै नेताहरु महाधिवेशन सार्ने तयारीमा हुँदा शेखर भने मंसिरमै महाधिवेशन गर्नुपर्ने अडानसहित अघि बढेको दाबी गरे।
“खासगरी पदाधिकारीहरु महाधिवेशन सार्नुपर्छ भन्ने मनेविज्ञानमा विश्वस्त नै हुनुहन्थ्यो। वरिष्ठ नेता शेखर कोइराला भने २०८२ मंसिरमा महाधिवेशन गरौँ मात्र भनिरहनु भएको थिएन, अभियानकै रुपमा यो एजेन्डा जिल्ला-जिल्लाका साथीहरु माझ पुगिरहनुभएको थियो‚” उनले बैठकमा भने‚ “म कैयन् ठाउँमा त्यसको साक्षी भएको छु। म सम्झन्छु पार्टी सभापति देउवा र शेखरको नोकझोक कार्यसमितिमा यसै विषयलाई लिएर भएको। तिनताका २०८२ मंसिरमै महाधिवेशन गरौँ भन्ने शेखर कोइराला एक्लो बृहस्पति झैँ म देख्दथे।”
बैठकमा उनले अहिले महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावले सबैलाई एउटै विन्दुमा ल्याउने बताए। “अहिलेसम्म हामीबीच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्दछ। मेरो व्यक्तिगत धारणाअनुसार नियमित महाधिवेशनका सम्बन्धमा महामन्त्री गगनकुमार थापाको प्रस्तावले सबैलाई एउटै विन्दुमा ल्याउँछ जस्तो लाग्दछ‚” उनले भने।
केन्द्रीय सदस्य पोखरेलले चौबाटोमा उभिएको कांग्रेसलाई सही बाटो हिँडाउन समर्थ हुनेछौँ भनेर नेताहरूले प्रमाणित गर्नुपरेको पनि बताए। उनले बीपी कोइरालाको विचार स्मरण गर्दै नेपाललाई आधुनिक परिवेशको मुलुक र थप बलियो लोकतान्त्रिक राजनीतिक प्रणालीतर्फ उन्मुख गराउन १५औँ महाधिवेशनमा ठोस कार्ययोजना बनाउनु अत्यावश्यक रहेको पनि बताए।