फोटो कथा
आन्तरिक र बाह्य पर्यटकको आकर्षण
सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मध्य भागमा ऐतिहासिक घण्टाघर छ। घण्टाघर संरक्षण तथा नियमित रेखदेखमा वीरेन्द्रनगर नगरपालिका सक्रिय छ। नगरपालिकाले घण्टाघरवरपरका संरचना निर्माणका साथै संरक्षणको काम पनि अघि बढाएको छ।
घण्टाघर क्षेत्र सहरको पहिचानसँग जोडिएको महत्त्वपूर्ण संरचना भएकाले पनि यसको सौन्दर्यीकरण र ऐतिहासिक महत्त्व जोगाउन पहल थालिएको हो। घण्टाघर क्षेत्रको संरचना मर्मत, सरसफाइ तथा आसपासको क्षेत्र व्यवस्थापनलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख मोहनमाया ढकाल बताउँछिन्।
यहाँ अहिले आन्तरिक र बाह्य आगन्तुकको आवागमन उल्लेख्य हुने गरेको छ। वीरेन्द्रनगर आफैँ कर्णाली प्रदेशको मुख्य प्रशासनिक तथा व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको सहर हो। घण्टाघरवरपरको क्षेत्र अहिले आकर्षक र व्यवस्थित बनेपछि फोटो खिच्ने, घुमफिर गर्ने तथा समय बिताउनेको भीड लाग्ने गरेको छ।

नगरपालिकाले घण्टाघर परिसरको नियमित सरसफाइ, हरियाली प्रवर्द्धन तथा बस्ने व्यवस्था मिलाएपछि यो स्थान अझ व्यवस्थित र सुन्दर बनेको हो। साँझपख यहाँ बालबालिका, युवा तथा ज्येष्ठ नागरिक विश्रामका लागि आउने गर्छन्। खुलास्थान, सफा वातावरण र शान्त परिवेशका कारण घण्टाघर क्षेत्र स्थानीय बासिन्दाका लागि दैनिक घुमफिर र आराम गर्ने उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
स्थानीय व्यवसायीहरूका अनुसार घण्टाघरमा बढेको चहलपहलले आसपासका पसल तथा साना व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको वीरेन्द्रनगरका सार्थक फुड प्रोडक्टका सञ्चालक टेकबहादुर खत्री बताउँछन्। पर्यटकको आगमन बढेसँगै यहाँको आर्थिक गतिविधि पनि चलायमान हुन थालेको उनको भनाइ छ।
वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा घण्टाघर क्षेत्रलाई थप व्यवस्थित बनाउँदै सांस्कृतिक तथा पर्यटकीय गतिविधिसँग जोड्ने योजना रहेको वडा ११ का अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए।
हेर्नुहोस् थप तस्बिर :
