१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका तीनथान हतियारसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका १‚ कैलालीका २३ वर्षीय शिवराज धमला छन्। उनलाई तारकेश्वर नगरपालिका ११ बाट बिहीबार साँझ पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) काजीकुमार आचार्यले बताए। आचार्यका अनुसार धमलालाई उनकै डेराबाट हतियारसहित पक्राउ गरिएको हो।

“प्रहरीबाट लुटिएका हतियार रहेको विशेष सूचनाका आधारमा हाम्रो टोली खटिँदा ती हतियारसहित पक्राउ गरिएको हो,” आचार्यले भने। धमलाको कोठाबाट एक थान इन्सास राइफल, सर्टगन र एक थान पेस्तोल बरामद भएको आचार्यले बताए। यस्तै २० थान गोली र २० थान नै रबर बुलेट बरामद भएको पनि उनले बताए।

यी हतियार कुन प्रहरी कार्यालयबाट लुटिएको भन्नेबारे खुलिसकेको छैन। पक्राउ परेका धमलालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ।