१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ। सोधेको-खोजेको विवरण आयोगलाई नदिएको भन्दै खापुङसँग बुधबार स्पष्टीकरण सोधेको हो।

आयोग सदस्य विज्ञानराज शर्माले खापुङसँग स्पष्टीकरण मागिएको नेपालन्युजलाई जानकारी दिए। “जेन-जी आन्दोलनका क्रममा भएका घटनाक्रमबारे आयोगले सोध्दा/खोज्दा विवरण नदिएको हुँदा उहाँलाई स्पष्टीकरण सोधिएको छ,” शर्माले भने।

आयोगले बुधबार नख्खु कारागार प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग साढे पाँच घण्टा बयान लिएको थियो।

जेन-जी आन्दोलनको दोस्रो दिन काठमाडौँ उपत्यकामा भएका ठूला घटना र हतियार लुटिएकोलगायत विषयमा खापुङसँग आयोगले विवरण मागेको थियो। खापुङले विवरण नदिएपछि स्पष्टीकरण सोधिएको शर्माले बताए।

आयोगले जेन-जी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाभित्र मुख्य भूमिकामा रहेका प्रहरीका इन्चार्जहरूलाई राजधानी नछाड्न निर्देशन दिइसकेको छ।

आयोगले प्रहरी प्रधान कार्यालयलाई उपत्यकाभित्र इन्चार्ज खटिएका सबैलाई राजधानी छोड्नै परे अनुमति लिन निर्देशन दिएको छ।

गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडीसहितका व्यक्तिलाई राजधानीबाहिर निस्किनु परे अनुमति लिन आयोगले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।