काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
जलेको अवस्थामा फेला परेका आरोपी लक्ष्मण पासवान र मृतक रुबी साह।
अ+
अ-

काठमाडौं। रौतहटको माधवनारायण नगरपालिका-२ कि २६ वर्षीया रुबी साहको हत्या आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा माधवनारायण नगरपालिका-६ का २७ वर्षीय लक्ष्मण पासवान रहेका छन्।

पासवानलाई रौतहट प्रहरीले बुधबार बिहान माधवनारायण-६ बाटै पक्राउ गरेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए। पासवान शरीरमा आगो लागी जलेको अवस्थामा बिहान ७ बजे फेला परेको कार्कीले बताए। “प्रारम्भिक अनुसन्धानको क्रममा हामीले हिजोदेखि नै उनलाई शंकास्पद व्यक्तिको रूपमा खोजी गरिरहेका थियौं, उनी भागिरहेका थिए,” कार्कीले भने।

गत शनिबार राति गौर–सिर्सिया सडकखण्डको मुडवलवा रोडनजिकै सुटकेसभित्र रुबीको शव फेला परेको थियो। मृतक रुबी साह गौर–२ महादेवपाट्टीमा डेरामा बस्दै आएकी थिइन्। कोठामै हत्यापछि सुटकेशभित्र शव राखेर ई-रिक्सामा अन्यत्र लैजान खोजिएको प्रहरीको भनाइ छ। ई-रिक्सा बाटोमै बिग्रिएपछि त्यहीँ छोडेर पासवान भागेको हुन सक्ने प्रहरी नायब उपरीक्षक कार्की बताउँछन्।

पासवान वैदेशिक रोजगारीका क्रममा मलेसियामा थिए। उनी यही अगस्ट महिनामै नेपाल आएको खुलेको छ। पासवानलाई उपचारको लागि काठमाडौं कीर्तिपुरस्थित वर्न अस्पताल ल्याइँदैछ।

“उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन्,” कार्कीले भने, “हत्या के कारण गरिएको हो भन्ने अहिले केही खुलेको छैन।”