काठमाडौँ। विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिंक इन्टरनेट सेवा अब भारतमा विस्तार हुने भएको छ। महाराष्ट्र यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्री देवेन्द्र फड्नाविसले घोषणा गरेका छन्।
‘महाराष्ट्र स्टारलिंकसँग औपचारिक रूपमा सहकार्य गर्ने पहिलो भारतीय राज्य बन्ने तयारीमा छ,’ महाराष्ट्रका मुख्यमन्त्री फड्नाविसले एक्समा लेखेका छन्, ‘यो सहकार्यले भारतलाई स्याटेलाइट–सक्षम डिजिटल पूर्वाधारमा अग्रणी बनाउनेछ।’
स्टारलिंकले लो–अर्थ अर्बिट स्याटेलाइट्समार्फत दुर्गम तथा पहुँचविहीन क्षेत्रमा उच्च–गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
भारतमा यस वर्षको अन्त्यसम्म ९० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता हुने अनुमान छ। यही पृष्ठभूमिमा सरकारले जुन महिनामा स्टारलिंकलाई देशमा सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरेको थियो।
यसअघि, भारतका सबैभन्दा ठूला दूरसञ्चार कम्पनी जियो प्लेटफर्म्स र यसको प्रतिस्पर्धी एयरटेलले समेत आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गर्ने योजना सार्वजनिक गरेका थिए।
स्टारलिंककी व्यापार सञ्चालन उपाध्यक्ष लरेन ड्रेयरले भारतको डिजिटल दृष्टिकोणलाई समर्थन गर्न पाउँदा आफू ‘अत्यन्त उत्साहित’ भएको बताउँदै एक विज्ञप्तिमा भनिन्, ‘स्टारलिंकले अन्तिम स्वीकृति प्राप्त गरेपछि हामी भारतका सबैभन्दा दुर्गम तथा असम्बन्धित क्षेत्रहरूमा विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक सेवाहरूलाई इन्टरनेटसँग जोड्नेछौँ।’