हार्डकपी नदिइने
काठमाडौँ। सूचना तथा प्रसारण विभागले आव ०८३/८४ देखि अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गर्ने भएको छ। विभागले सूचना जारी गर्दै अबदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता/नवीकरण प्रमाणपत्र हार्डकपीमा नदिइने जनाएको हो।
विभागका अनुसार सूचना प्रविधिसम्बन्धी ऐन, २०७५ तथा सूचना प्रविधि नियमावली, २०७७ अनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता/नवीकरण ‘इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (आईएमएस)’ मार्फत गरिँदै आएको छ। अब यो प्रणालीलाई थप परिमार्जन गरी ‘बिजनेस प्रोसेस रि-इन्जिनियरिङ (बीपीआर)’ को अवधारणाअनुसार डिजिटल प्रणालीबाटै सम्पूर्ण सेवाप्रवाह गरिने जनाइएको छ।
यससँगै अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणसम्बन्धी प्रमाणपत्र डिजिटल कपीमै उपलब्ध गराइने र हार्डकपी उपलब्ध नगराइने निर्णय गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ।
त्यस्तै आव ०८३/८४ का लागि नवीकरण कार्य प्रारम्भ भइसकेको र आव ०८२/८३ सम्म नवीकरण भएका सञ्चारमाध्यमले आवश्यक कागजातसहित आईएमएस प्रणालीमार्फत निवेदन दिन सक्नेछन्। साथै नवीकरणका लागि स्वीकृत भएका सञ्चारमाध्यमले तोकिएको शुल्क समयमै भुक्तानी नगरे प्रमाणपत्र स्वतः रद्द हुने कानुनी व्यवस्था रहेको पनि विभागले जनाएको छ।
