काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने सुनिश्चित भए वैशाखमा पार्टी महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
जारी केन्द्रीय समितिको बैठकमा बिहीबार उनले चुनाव र महाधिवेशनका लागि पार्टी तयार हुनुपर्ने बताएका हुन्। “अधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्छ,” उनले भने, “साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा लामो समयदेखि घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार गर्दै अगाडि बढ्नुपर्छ।”
उनले फागुनमा निर्वाचन हुने हो भने महाधिवेशन वैशाखमा गर्दा उपयुक्त हुने र यदि २१ फागुनको चुनाव सरेर वैशाखमा पुग्ने अवस्था आउने देखिएमा फागुनमै महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्ने बताए।
“निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्नेभन्दा पनि फागुनमा निर्वाचन हुने सुनिशिचत भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,” साउदले बैठकमा भने।
उनले पार्टी केन्द्रीय समिति अनिर्णयको बन्दी बन्न नहुने भन्दै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन पनि नहुने बताए। एकता, संवाद र सहमतिबाट निष्कर्षमा पुग्न पनि उनले आग्रह गरेका छन्।
जेनजी आन्दोलनले युवासम्म जाने, युवाका मुद्दा सम्बोधन गर्ने र सहभागितालाई पार्टीका तह र तप्कामा सुनिश्चित गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको भन्दै त्यो अवसर पार्टीले गुमाउन नहुने उनले बताए। चार वर्षभित्र हुनुपर्ने अधिवेशन निर्धारित समयभित्र हुनुपर्छ र नभए पार्टीले निर्धारित गरेको समय सीमाभित्र गर्न पर्ने आवश्यक तयारी समयमै गर्नुपर्दछ भन्ने पार्टीका सीमित व्यक्तिमध्ये आफू पनि एक भएको उनले बताए।
यस्तो छ उनको लिखित सम्बोधन
आज देश र पार्टी जटिल संकटमा छ। राष्ट्रिय रूपमा जेनजी आन्दोलनले राष्ट्रिय सम्पत्ति र इतिहासका गौरवहरू मात्र ध्वस्त गरेको छैन, नेपाली कांग्रेसका पार्टीका सभापति शेर बहादुर देउबा र वहाको परिवारका साथै हाम्रा पार्टी कार्यालयहरु, कांग्रेसका राष्ट्रिय नेता हुन् या स्थानीय नेता हुन्, उनीहरुको सम्पत्तिमा आगो लगाएको छ। ठूलो विध्वंश गरिएको छ। अन्य पार्टीहरू पनि आक्रमणको चपेटामा परेका छन।
संसद् विघटन भएको छ। हाम्रो सहभागिताको सरकार ध्वस्त भएको छ। मुलुक अहिले पनि गम्भीर अस्थिरताको चक्रव्यूहमा छ। जेनजी आन्दोलनको प्रहार र प्रभावबाट पार्टीहरु अहिले पनि तंग्रिन सकेका छैनन्।
नोपोटिजम, सुशासन र सोसल पलेट फर्म बन्द गर्ने सरकारको निर्णय विरुद्धसमेतका अन्य मुद्दाहरु लिएर उठेको जेनजी आन्दोलन अहिले पनि आफ्नै दर्शन, मुद्दा र प्रभावलाई संस्थागत गरेर थिग्रिन सकेको छैन। राजनीतिक विश्लेषकहरू अहिले पनि जेनजी आन्दोलनको सम्पूर्ण उर्जा भेन्टिलेट हुन बाँकी नै रहेको अनुमान गर्छन्।
जेनजी आन्दोलनको प्रभावका विश्व अनुभवहरु फरक–फरक रहेका छन्। बंगलादेश सरकारको पतनपछि अतिवादी धार्मिक शक्तिहरु पुनरोदयको क्रममा छन् र त्यहा जेनजीहरु हराएका छन्।
श्रीलंकामा एकहप्ते जेनजी विद्रोहपछि सत्ता परिवर्तन भयो। निर्वाचन भयो र वामपन्थी झुकाव राख्ने नयाँ सरकार निर्माण पछि जेनजीहरुको आन्दोलन टुंगिएको छ। मेडागास्करमा जेनजी आन्दोलनपछि एक जना कर्णेलले सत्ता नियन्त्रणमा लिएका छन्।
इस्ट- टिमोरमा सुरु भएको जेनजी आन्दोलन कुनै परिणाम नदिएर निस्तेज भएको छ।
इन्डानेसिया, फिलिपिन्समा जेनजी आन्दोलन अहिले पनि संघर्षकै चरणमा छन्। विश्वमा जेनजीहरुले आफ्नो आन्दोलन पछि संस्थागत भएर राज्य संरचना सञ्चालन गरेको अनुभव कतै देखिँदैन।
नेपालमा पनि अन्ततगत्वा जेनजी आन्दोलनलाई संस्थागत गर्दै हामी अघि बढ्यौँ भने समाज परिवर्तनका संबाहक दलहरू नै हुन भन्ने कुरामा कुनै विवाद हुनै सक्दैन।
जेनजी आन्दोलनभित्र हाम्रा लागि पनि टनेलको अर्को कुनाको प्रकाशका जसरी केही कुराहरू देखिन्छन्।
लगभग २० वर्षदेखि दुई तिहाइको सेरोफेरोमा रहेको कम्युनिस्ट शक्ति अहिले खुम्चिएको जस्तो भएको छ।
झुटा सपना र क्रान्तिका लफ्फाजीहरुले वामपन्थी धारतिर युवाहरु आकर्षित भएर हाम्रा सभा सम्मेलनहरूमा ४० वर्ष भन्दा मुनीको सहभागीताको अवस्था दयनीय हुन्थ्यो।
युवासम्म पुग्ने पार्टीका भातृसंस्था र अन्य संयन्त्रहरु पक्षघातबाट ग्रस्त थिए।
हाम्रो पार्टीको मूल संरचनालाई सशक्त बनाएर बहुलवादी लोकतान्त्रिक समाजवादको अवधारणालाई समाजका सबै तप्कासम्म विस्तार गर्ने क्षमतामा गम्भिर ह्रास आएको अवस्था छ।
जेनजी आन्दोलनले हामीहरुलाई युवासम्म जाने, युवाका मुद्दाहरु सम्बोधन गर्ने र उनीहरुको सहभागितालाई पार्टीका तह र तप्कामा सुनिश्चित गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ। यो अवसरलाई हामीले गुमाउनु हुँदैन।
भू-राजनीति, बदलिँदै गएको विश्व व्यवस्था र आफ्नो राष्ट्रिय हितमा आधारित परराष्ट्र नीतिका आधारमा छिमेकी र अन्य मित्र राष्ट्रहरुसंगको सम्बन्धलाई प्रभावकारी र गतिशिल बनाउन सकेनौ भने देश शक्ति राष्ट्रहरुको खेल मैदानमा परिणत हुन सक्दछ।छिमेकि र सबै मित्र शक्तिहरुसंगको दिगो र भरपर्दो सम्बन्धले देशलाई दीर्घकालीन हित गर्ने भएकोले परराष्ट्र नीति सञ्चालनमा पुर्खाले छाडेर गएको अनुभवको एतिहासिक विरासतलाई पनि नेपालले अगाडि बढाउनुपर्ने हुन्छ।
पार्टीको विधानले निर्धारित गरेको हाम्रो पार्टी संरचनाहरुको कार्यकाल समाप्त हुन थालेको छ। सभापति दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्थाले हाम्रा श्रद्धेय सभापतिको ग्रेसफुल एक्जिट विधानले नै सुनिश्चित गरेको छ।
चार वर्षभित्र हुनुपर्ने अधिवेशन निर्धारित समयभित्र हुनुपर्छ र नभए पार्टीले निर्धारित गरेको समय सीमाभित्र गर्न पर्ने आवश्यक तयारी समयमै गर्नुपर्दछ भन्ने पार्टीका सीमित व्यक्तिहरु मध्ये म पनि एउटा हुँ।
त्यसवापत मैले केही अवमूल्यन र आक्रमण सहनु परेता पनि विवेकको बोली बोल्न पछि हट्न हुँदैन भन्ने मान्यताले पार्टीका केही नेताहरुका साथ सदन, पार्टीका फोरमहरु, सञ्चारमाध्यम र देशव्यापी भ्रमण गरेर यो सन्देश दिने कोसिस गरेको हु।
आज महाधिवशेन फेरि ठूलो बहसको मुद्दा बनेको छ। विधानले निर्दिष्ट गरेको जिम्मेवारीलाई हामी केन्द्रीय समितिका सदस्यहरुले निर्वाह नगर्दा यो विवाद प्रभावका साथ विस्तारित भएर पार्टी अस्तित्व र एकताको संकटका रुपमा उपस्थित भएको छ।
लामो समयदेखि पार्टीमा भेदभाव बिभाजन मुल्याङमन को अभाव र अवसर प्रदान गर्दा न्याय र पारदर्शिताको कमिले पार्टीमा रहेका असन्तुस्टी समेत बिशेष अधिवेशनका मागमा क्रममा जोडिएर आएको छ।केन्दंरीय समितिले आफ्नी कमिकमजोरी महसुस गरेर साथीहरलाई पार्टीको अगाडी भएको वाध्यता र सिमित विकल्प रहेको बताउन हस्तक्षरकर्ता पार्टीका युवा नेताहरुसंग वार्ता संवाद र छलफल गर्न ढिला गर्नु हुन्न।
मंसिरको समयसीमा भित्र अधिवेशन गर्न सक्ने तयारी र अवस्था हाम्रो छैन। फागुन २१ गते निर्वाचन तोकिएको छ। हाम्रो पार्टीले निर्वाचनमा जान्छौँ भन्ने मौखिक प्रतिवद्धता गरे पनि केन्द्रीय समितिले आजको दिनसम्म ठोस निर्णयको रुपमा त्यसलाई अंगिकार गरिसकेको छैन।
कांग्रेस पार्टी र प्रजातान्त्रिक व्यवस्थाका लागि निर्वाचन एउटा शक्ति प्रप्ति र सञ्चयको साधनमात्रै होइन। मुलुकमा जनताका आकांक्षाहरुको व्यवस्थापन र विद्यमान तरल राजनीतिको अन्त्य, सुशासन र समृद्धिका लक्ष्य प्राप्तिका लागि पनि जरूरी छ।
हालैका दिनमा सम्प्रेषित प्रधनमन्त्री, गृहमन्त्री र सरकारका अन्य जिम्मेवार निकायका अभिव्यक्तिहरुले निर्वाचनलाई थप अनिश्चित बनाएको छ। यस्तो अवस्थामा एउटा अनिश्चित निर्वाचनको अगाडि वा पछाडि कहिले महाधिवशेन गर्ने भन्ने मुद्दाले हाम्रो पार्टीको बहस विभाजित भएको छ। निर्वाचन समयमा नभएर जनप्रतिनिधित्व बिनाको सासन लामो समयसम्म चल्ने जोखिमबाट बच्न भए पनि हाम्रो पार्टीभित्र चुनाव नहुन सकेको अवस्थामा संसद पुनस्र्थापनाको मुद्दा न्यायिक निरुपणको विषय हुन सक्छ भन्ने मत पनि छँदै छ।
पार्टीका आधा केन्द्रीय समितिभित्र नरहेका महत्वपूर्ण र जिम्मेवार साथीहरुको समयमा महाधिवशेन हुनपर्छ भन्ने चासो र हस्ताक्षेपलाई हामीले अन्यथा लिनु हुँदैन। तर, हामी केन्द्रीय समितिको जिम्मेवारीमा रहेका नेताहरुले आवश्यक तयारी र प्रक्रिया सरा नगरेको कारणले के हामी पारदर्शिता र एकता बिना फागुनमा हुने निर्वाचन अगाडि महाधिवेशन गर्न सक्छौँ त? भन्ने गम्भीर वस्तुपरक प्रश्न उठेको छ।
अहिले महाधिवेशनको मिति निर्वाचन पछाडि तोक्दा फागुनको निर्वाचन पछाडि सरेको खण्डमा महाधिवेशन पनि अझ पछाडि सार्नु पर्ने बाध्यता छ। त्यसकारण महाधिवशेनलाई निर्वाचनको सापेक्षतामा हेर्नु पर्ने हुन्छ।
निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिशिचत भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ।
अधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्ने, साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा लामो समयदेखि घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार गर्दै अगाडि बढ्नुपर्छ।
पार्टी केन्द्रीय समितिले एकातिर अनिर्णयको बन्दी बन्नु हुँदैन भने अर्कोतिर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने हुनु हुँदैन। हामीले एकता, संवाद र सहमतिबाट निष्कर्षमा पुग्नुपर्दछ ।