काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। फुटबल खेलाडी संघले ‘ए’ डिभिजन लिगको सुनिश्चितताको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एक साताको अल्टिमेटम दिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर बिहीबार धर्ना कार्यक्रममा संघका अध्यक्ष विक्रम लामाले एक साताभित्र लिगको घोषणा नभए संघर्षमा उत्रने चेतावनी दिएका छन्। “नेपाल फुटबल संघलाई हामी आज प्राइम प्रस्तावना दिन चाहन्छौँ। अबको एक साताभित्र लिग निरन्तर रूपमा सञ्चालन गर्ने खाका तयार पार्दैन भने योभन्दा सशक्त रुपमा हाम्रो उपस्थिति हुन्छौं र हाम्रो विनम्रताको हाम्रो धैर्यताको उहाँहरूले तोड्ने कोसिस गर्नुभएको छ यसले यसपछि आउने जुन किसिमको अवस्थाहरू हुन्छ यी सम्पूर्ण अवस्थाको जिम्मेवार एन्फा हुन्छ,” उनले भने।

नेपाल खेलाडी संघको अगुवाइमा एन्फा कम्प्लेक्स अगाडिको सडकमा खेलाडीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै लिग स्थगनको निर्णय फिर्ता लिन माग गरिएको थियो।

यो पनि…

‘ए’ डिभिजन लिग स्थगनको विरुद्धमा सडकमा उत्रिए खेलाडी

प्रदर्शन भइरहँदा संघका प्रमुख अधिकारीहरू भने अनुपस्थित रहे। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अध्यक्ष पंकजविक्रम नेम्वाङ ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको दौडाहामा छन् भने महासचिव किरण राई हेटौँडामा भइरहेको एन्फा प्रेसिडेन्ट लिगको कार्यक्रममा सहभागी हुन गएका छन्।

गत सोमबार एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका अध्यक्षबीचको बैठकले ३ पुस २०८३ देखि लिग सञ्चालन गर्ने सहमति गरेको थियो। त्यसअनुसार चार वर्षपछि मात्र लिग सुरु हुने सम्भावना देखिएको छ।

पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन। बरू एन्फाले शीर्ष डिभिजनका ६ क्लबलाई समेटेर राष्ट्रिय लिग गराउने घोषणा गरेको छ।