भक्तपुर। भक्तपुरको मध्यपुर ठिमीस्थित यातायात व्यवस्था कार्यालय र सानोठिमीको प्रहरी प्रभागमा आगजनी तथा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई हाल भक्तपुर सानोठीमी बस्ने २३ वर्षीय सागर मगर, रामेछाप खाँडादेवी गाउँपालिका-६ घर भई हाल भक्तपुर सानोठीमी मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र रौतहट दुर्गा भगवती गाउँपालिका-१ घर भई हाल भक्तपुर सानोठीमी बस्ने २४ वर्षीय संजितकुमार ठाकुर रहेका छन्।
उनीहरूलाई प्रहरी वृत्त ठिमीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए। भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा उनीहरूले मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र वडा नं. २ सानोठिमीस्थित प्रहरी प्रभागमा भएको तोडफोड तथा आगजनी गरेको जबेगुले बताए।
प्रहरीका अनुसार उनीहरूविरुद्ध आगजनी, सार्वजनिक सम्पत्ति क्षति र तोडफोड कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ।