२२ कार्तिक २०८२
अ+
अ-

मोरङ। भारतको बिहारमा जारी विधानसभा निर्वाचनका कारण मोरङका सीमानाका तीन दिनका लागि बन्द हुने भएको छ।

बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ। दोस्रो चरणको मतदान ११ नोभेम्बरमा हुँदै छ।

यस अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न नेपाल-भारत सीमावर्ती क्षेत्रका नाका तीन दिन बन्द गरिने भएको हो।

मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सीमा नाका ७२ घण्टासम्म बन्द गरिने जानकारी दिएको हो। सूचनाअनुसार मतदान अवधिमा शान्ति-सुरक्षालाई ध्यानमा राखी सीमावर्ती आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, “बिहार विधानसभाको आमनिर्वाचन-२०२५ मा मतदानका दिन सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले नेपाल-भारत सीमामा ७२ घण्टाका लागि नाका बन्द गरिने निर्णय भएको छ।”

जारी सूचनाअनुसार २२ कात्तिक साँझ ६:१५ देखि २५ कात्तिक निर्वाचन सम्पन्न नभएसम्म सीमावर्ती नाका बन्द रहनेछ। यस अवधिमा आपतकालीन सेवाबाहेक सबै किसिमका आवागमनमा रोक लगाइनेछ।