महानगर-टेलिकम सम्झौता
विद्युतीय शासन प्रणाली मजबुत बनाउन महानगरपालिकामा तीव्र गतिको इन्टरनेट
काठमाडौँ। स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टु द होम- एफटीटीएच) जडान गर्न काठमाडौँ महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेको छ।
महानगरपालिकाको केन्द्रीय कार्यालयमा शुक्रबार भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गरे। यसअघि वडामा २० एमबीपीएस क्षमताको लिज लाइन लिइएको थियो। यसको लागत धेरै थियो। अहिलेको लागत कम र क्षमता धेरै भएको विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए। अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रमा एक जीबीपीएस बेसिक र प्रिमियम तथा पाँच सय एमबीपीएस क्षमताको इन्टरनेट जडान गरिएको छ।
यो सेवा चौबीसै घण्टा उपलब्ध हुने महानगरले जनाएको छ। महानगरका अनुसार सम्झौता २०८२ साउन मसान्तसम्मका लागि हो।
यो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल, पूर्व क्षेत्र, बानेश्वर, बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, वारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटि बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, वसन्तपुर, बालाजु पार्क, शंखपार्क गरी ७१ सेवा केन्द्रका लागि खरिद गरिएको हो।