काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्ने बताएका छन्। सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटीभी वर्ल्ड’ को औपचारिक शुभारम्भ समारोहमा आइतबार उनले पीएसबीमार्फत दिइने विषयवस्तु बलियो, प्रभावकारी र दिगो हुनुपर्नेमा जोड दिए।
सञ्चारमन्त्री खरेलले भने, “पीएसबीको नारा जस्टिफाई हुन जरुरी छ। यसले दिने कन्टेन्ट बलियो हुनुपर्यो। कन्टेन्टमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ र प्रस्तुतिमा निखारपन आउनुपर्छ। पीएसबीको पहुँच जनतामा सहज र सरल रुपमा पुर्याइनुपर्छ।”
उनले चुनौतीबीच पीएसबीको सुखद् सुरुवात भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए। सञ्चारमन्त्री खरेलले विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशीको नजरमा नेपालको पहिचान र गौरब झल्कने सामग्री समेट्न जरुरी भएको उल्लेख गरे।
उनले नेपालमा मात्रै नभई विश्वभर आमसञ्चार चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पीएसबीलाई मोबाइल, ‘डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टीभीको दर्शक-स्रोता बढाउनेगरी प्रशारण हुनुपर्नेमा जोड दिए। “हिजोको जस्तो भित्तामा टेलिभिजन राखेर चल्दैन। बद्लिँदो समय र प्रविधि तथा उपकरणअनुरुप अब, सुधार गर्नेपर्छ। एनटीभीको पाँचवटै च्यानलमार्फत कसरी जनताको विश्वास जित्ने, लाइक भ्युअरसिप बढाउनुपर्छ। निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ‚” उनले भने।
उनले पछिल्लो समय आमसञ्चारमाध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौती थपिँदै आमसञ्चारको दिगोपना र व्यावसायीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे।