काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहोर बाल्न रोक लगाएको छ। चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो।
जाडोमा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने गरेको छ। प्रदूषण बढ्न यसरी खुला रुपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ। विभागका प्रमुख सरिता राई भन्छिन्, “जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यस्तो निर्णय गरिएको हो।”
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम-खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्छ। “महानगरपालिकाले जारी गरेको प्रतिबन्धसम्बन्धी अनुरोध कसैले अटेर गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ।” यस व्यवस्थाबमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिवाना हुनेछ।