काठमाडौँ। काठमाडौँ महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरुले सेवानिवृत्त जीवनमा सेवा कालको ज्ञान, सीप र अनुभव उपयोग गर्ने अवसरले खुसी बनाएको प्रतिक्रिया दिएका छन्। महानगरपालिकाको सभाकक्षमा आइतबार आयोजित परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा सहभागीले खुसी जनाए।
सिल्भर भोलेन्टिएर परिचालन व्यवस्थापन समिति संयोजक एवं सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले महानगरको सन्तुलित विकासका लागि दक्ष र अनुभवी व्यक्तिको ज्ञान, सीप र क्षमताले महसुस हुने नतिजा दिने अपेक्षा गरे। समिति सदस्य एवं कार्यपालिका सदस्य वीरेन्द्र प्रजापतिले प्रशासनिक, आर्थिक, सामाजिक तथा अन्य क्षेत्रगत अनुभवले दिगो विकासमा योगदान हुने अपेक्षा गरे।
आयोगका सदस्य सुरज काफ्ले र सुमन प्रधानले विकासमा अनुभवको गुणात्मक महत्त्वमा दिए। शारीरिक तथा मानसिक रूपमा सक्षम सेवानिवृत्त ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक सेवामा परिचालन गर्ने महानगरको कार्यक्रमले अनुकरणयोग्य रहेको उनीहरुको भनाइ छ।
कार्यक्रमका लागि छानिएका व्यक्तिले विषयगत समूह बनाउनेछन्। कार्यक्रम सञ्चालनका विषयमा आयोगका सहायक विज्ञ सुदीप ढकालले जानकारी दिँदै, समूहका संयोजकहरूले मासिक बैठक गरेर सम्पन्न काम तथा आगामी कार्यक्रमका बारेमा समूहमा जानकारी दिनुपर्ने, असल अभ्यास र सिकाइ प्रत्येक तीन महिनामा एकपटक सम्बन्धित समूहबीच आदानप्रदान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे। यस्तै सहायक विज्ञ पुरुषोत्तम महतले योजना कार्यान्वयनलाई अनुभवले सहज बनाउने धारणा राखे।
सहायक विज्ञ विवेक बास्तोलाका अनुसार महानगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए। उनीहरुमध्ये योग्यता पुगेका ५२ पुरुष र १३ महिला गरेर ६५ जना छानिएका छन्। यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिकलगायत क्षेत्रका व्यक्तित्व छन्।
स्वयंसेवकका योग्यता
काठमाडौँ महानगरपालिका सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको छ। जसअनुसार नेपाली नागरिक, प्रचलित कानुनबमोजम स्वीकृति लिएका गैरआवासीय नेपाली, प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयंसेवा गर्न पाउनेछन्। यसमा ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्छ। सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्छ। एक वर्ष अवधिका लागि साताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्छ। शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्छ। स्वयंसेवा गर्न पूर्ण रूपले तत्पर र इच्छुक हुनुपर्छ। फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता हुन्।
कार्यक्रमका क्षेत्र र सञ्चालन संयन्त्र
भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ। यसमा प्रमुखले तोकेको नगर कार्यपालिका सदस्य एकजना, सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट एकजना महिलासहित दुईजना, आयोगका सदस्य मध्येबाट उपाध्यक्षले तोकेको एकजना सदस्य रहने व्यवस्था छ। समितिमा सामाजिक विकास विभागका सदस्य पदेन सदस्य र आयोगको अधिकृत सदस्य-सचिव रहने व्यवस्था छ।
महानगरपालिकाअन्तर्गत रहेका सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन, सार्वजनिक सेवा सहजीकरण सिल्भर भोलिन्टियरका क्षेत्र हुन्। यससँगै सामाजिक सेवा प्रदान गर्ने संघ-संस्था, साना तथा घरेलु उद्योगहरूको सेवाको गुणस्तर बढाउने यस कार्यक्रमले लिएका लक्ष्य हुन्।
यो काममा सहयोग पुर्याउन सरकारी, गैरसरकारी तथा निजी संस्थामा लामो समय काम गरी सेवानिवृत्त भएका वा कुनै विषयमा दक्षता हासिल गरेका ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य क्रियाकलाप हो।