२८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूहरू अद्यावधिक हुन आवश्यक रहेको बताएका छन्। राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद्जस्ता संस्थाहरूसमेत हिजोको अवस्थामा नरहेको भन्दै उनले आफूहरू अद्यावधिक हुनपर्ने बताएका हुन्।

‘हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्दैन। हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,’ उनले एक वक्तव्य जारी गर्दै भनेका छन्।

उनले २३ भदौ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधानलगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको बताएका छन्। यसका लागि १३ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी बन्न पनि उनले अपिल गरेका छन्। ‘हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ। महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसीर १३ गते देशभर एकै दिन हुँदै छ। जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु,’ उनले भनेका छन्।