काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सरकार र जेन-जी प्रतिनिधिहरूबीच ज्यान मार्ने र बलात्कारबाहेकका अन्य कसुरमा पक्राउ परेका आन्दोलनकारीलाई तत्काल थुनामुक्त गर्ने सम्झौता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की र जेन-जी प्रतिनिधिबीच भएको सहमतिमा यसरी थुनामुक्त भएको व्यक्तिमाथि अनसन्धान गर्ने अधिकार आयोगलाई हस्तान्तरण गर्ने सहमति भएको छ।

‘आयोगले सिफारिस गरेको घटनामध्ये जघन्य अपराधबाहेक अन्य कुनै पनि घटनामा प्रहरीले जनआन्दोलनकारीलाई पक्राउ गरी अभियोजन गरेको छ भने ती मुद्दालाई सरकारले मुलतबीमा राखी ज्यान मार्ने कसुर र करणीसम्बन्धी कसुरबाहेक अन्य घटनामा पक्राउ परेका थुनुवालाई तत्काल थुनामुक्त गरी सो अनुसन्धान गर्ने अधिकार आयोगमा हस्तान्तरण गर्ने,’ सम्झौतामा भनिएको छ।

सरकारले २३ र २४ भदौमा भएको आन्दोलनको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक आयोग गठन गरेको छ। आन्दोलनको समयमा भएको घटनाको छानबिन गर्न गठन गरिएको न्यायिक आयोग अधिकार क्षेत्रलाई लिएर प्रहरीसँग मतभेद रहँदै आएको छ।