२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले वडाका बासिन्दालाई सार्वजनिक सेवा प्रवेशमा प्रोत्साहित गर्न खरिदार र नायब सुब्बा पदका लागि लोकसेवा कक्षामा सहभागी गराउने भएको छ। सूचना प्रकाशित गर्दै वडाले कक्षामा सहभागी हुने स्थानीयबाट आवेदन मागसमेत गरेको छ।

“परिवार तथा छिमेकीहरु सार्वजनिक सेवामा नभएपछि स्थानीय बासिन्दामा यसप्रति चाह भएन। जसकारण निजामती तथा स्थानीय सेवामा महानगरका बासिन्दाको संख्या कम छ‚” वडाध्यक्ष एवं विधायन समिति संयोजक मचाराजा महर्जनले भने, “लोकसेवा कक्षामा सहभागी गराएर वडाका बासिन्दालाई सार्वजनिक सेवाका लागि प्रोत्साहित गर्न लागेका हौँ। १५ जनादेखि २० जनासम्मलाई पहिलो चरणमा सहभागी गराउँछौँ।”

३५ वर्षसम्मका पुरुष र ४० वर्षसम्मका महिलालाई कक्षामा सहभागी गराइने सूचनामा उल्लेख छ।

इच्छुकलाई आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, बसाइसराइँ आएको भए बसाइसराइँको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र इमेल ठेगाना माग गरिएको छ।