काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

३० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल-भारत सशस्त्र सीमा बल (एसएसबी)बीच द्वीपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठक समापनपश्चात् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल २९ कात्तिकमा शनिबार स्वदेश फिर्ता भएका छन्।

उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक स्वागत गरे।

सो बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा छिमेकी मुलुक भारतको सशस्त्र सीमा बल (एसएसबी)को तर्फबाट महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका थिए।

२६ कात्तिकदेखि २८ सम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको उक्त समन्वयात्मक बैठकमा सीमा-अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायवीच छलफल भएको थियो।

२०८१ मंसिरमा काठमाडौंमा सम्पन्न भएको आठौँ समन्वयात्मक वैठकबाट पारित एजेण्डाका विषयमा समेत समीक्षा भएको थियो। बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो।

उक्त बैठकमा भाग लिन महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृहमन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल भारत गएका थिए।