एनपीएल सिजन २
कोरोना महामारीपछि धक्का पुगेको अर्थतन्त्र चलायमान गराउन गत संस्करणले भूमिका खेलेजस्तै यस संस्करणले जेन-जी आन्दोलनबाट भएको क्षति, नोक्सानीबाट बौरिन आत्मविश्वास दिन सक्छ।
नेपाली क्रिकेटको कुम्भ मेला भनेर चिनिने नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु हुँदै छ। गत वर्ष पहिलो संस्करणबाट वाहवाही कमाएको एनपीएलमा यस वर्ष पनि सानदार प्रदर्शन हुने विश्वास गरिएको छ।
खेलाडी, दर्शक/समर्थक मात्र होइन, विश्व क्रिकेटले समेत एनपीएलमा नजर लगाइरहेको हुनेछ। अहिले जुन पृष्ठभूमिमा नेपाल प्रिमियर हुँदै छ, यसले दुई महिनाअगाडिको जेन-जी आन्दोलनको घाउ बिर्साउनसमेत सघाउ पुग्नेछ।
किन विशेष छ एनपीएल-२?
एनपीएल सिजन २ गत वर्षभन्दा धेरै हिसाबले फरक छ। गत वर्ष एनपीएलको सफल आयोजनामा दर्शकहरूको उल्लेख्य उपस्थिति रह्यो। देशभित्र र बाहिर अत्यधिक चर्चा भयो। अन्तर्राष्ट्रिय मिडियाको नजरमा दक्षिण एसियाली हिमाली राष्ट्र नेपालले आयोजना गरेको एनपीएलको नारा नै ‘हिमालयको पर्व’ राखियो। एनपीएलले जलवायु परिवर्तनजस्तो महत्त्वपूर्ण विषय उठाउँदै ट्रफीमा समेत कालापत्थरबाट ल्याइएको ढुंगा राखेर पृथक् सन्देश दियो।
एनपीएल सिजन २ फ्लडलाइटमा खेलिनेछ, जुन सन् २०१४ मा टी-२० विश्वकप खेलेको पुस्ताले समेत सायदै कल्पना गरेको थियो। एक अन्तर्वार्ताका क्रममा नेपाली क्रिकेट टोलीका पूर्वसहायक प्रशिक्षक वसन्त शाही ठकुरी र पूर्वप्रशिक्षक जगत टमाटाले आफ्नो जीवनमा त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटमा खेल हुने कल्पनासमेत नगरेको भनेका छन्।
नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा मारेको छलाङ, विगत दुई दशकदेखि नेपाली क्रिकेट समर्थकको उर्लंदो क्रिकेट माहोलबारे राजनीतिक दल र नेताहरू बेखबर थिएनन्। उनीहरू क्रिकेटले प्राप्त गरेको सफलतालाई नजिकबाट नियालिरहेको सन्देश दिइरहेका हुन्थे। क्रिकेटमा लगानी गर्न राजनीतिक उच्च नेतृत्व निकै दबाबमा थिए। यसपछि नै तत्कालीन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले त्रिवि क्रिकेट मैदानलाई स्तरोन्नति गरी फ्लडलाइट र पारापिटसहितको रंगशालाको परिकल्पना गरेको थियो।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पूर्वसन्ध्यामा त्रिवि क्रिकेट रंगशाला। तस्बिर : नेपाल फोटो लाइब्रेरी
त्यसपछि गठित केपी शर्मा ओली नेतृत्वको सरकारले त पहिलो निर्णय नै त्रिवि मैदानमा फ्लडलाइट र पारापिट हाल्न ३०० दिन तोकेर अर्को महत्त्वपूर्ण निर्णय गर्यो। यसैबाट थाहा हुन्छ कि क्रिकेटमा गडेको समर्थकको भावनालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व कति सचेत थियो भनेर। फलस्वरूप, यस वर्ष दर्शकले क्रिकेट हेर्न चिसो भुइँमा बस्नुपर्ने छैन, चम्किला कुर्सीहरू तयार छन्। साँझमा हुने खेलमा उज्यालो देखिने फ्लडलाइटमा नेपालसहित विश्वका १४ भन्दा बढी देशका ४४ जना विश्वस्तरीय खेलाडीको उपस्थिति रहनेछ।
‘क्रिकेट युनाइट्स नेपाल’ को नारा
१ मंसिर २०८२ नेपाली क्रिकेटको लागि निकै ऐतिहासिक क्षण हो। एकातिर एनपीएल सिजन २ भव्यताका साथ आयोजना हुँदै छ भने अर्कातर्फ पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालीहरूलाई एकताको सूत्रमा बाँध्न ‘क्रिकेट युनाइट्स नेपाल’ अथवा क्रिकेटले नेपाललाई एकताबद्ध राख्छ भनिएको छ। पछिल्ला केही वर्षयताका राजनीतिक अस्थिरताका बीचमा क्रिकेट नेपालीहरूलाई खुसी दिने माध्यम बनिरहेको छ। एनपीएल सिजन २ ले यही पृष्ठभूमिमा धेरै नेपाली मुहारमा खुसीको रङ पोत्ने प्रयत्न गर्नेछ।
नेपाल उद्योग वाणिज्य महासंघदेखि विभिन्न उद्योग-व्यापारसम्बन्धी संघसंस्थाले सार्वजनिक रूपमै उद्योगी-व्यवसायीको आत्मविश्वास गुमेको भनेका छन्। यसलाई पनि केही हदसम्म मलमपट्टी लगाउन एनपीएलले सकारात्मक सन्देश सञ्चार गर्न सक्नेछ। कोरोना महामारीपछि धक्का पुगेको अर्थतन्त्र चलायमान गराउन गत संस्करणले भूमिका खेलेजस्तै यस संस्करणले जेन-जी आन्दोलनबाट भएको क्षति, नोक्सानीबाट बौरिन र उद्योगीदेखि पूरै देशको राष्ट्रिय आत्मविश्वास बढाउन सघाउन सक्छ।
विश्वकपको सानदार तयारी
सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा नेपाल छनोट भइसकेको छ। गत महिना नेपालले ओमानमा सम्पन्न क्षेत्रीय छनोटबाट ट्रफी उचाल्दै विश्वकपमा स्थान बनाएको हो। यससँगै नेपालले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी-२० विश्वकप खेल्नेछ। आगामी वर्ष ७ फेब्रुअरीबाट हुने विश्वकप यसपटक नेपालका लागि निकै महत्त्वपूर्ण छ।
विश्व क्रिकेटको महाशक्ति राष्ट्र भारत छिमेकमै हुँदा पनि आशा गरेझैँ सहयोग पाउन नसकेको पृष्ठभूमिमा भारतमै सशक्त खेल प्रदर्शन गर्ने मौका नेपालसामु छ। नेपाली झन्डासहित उपस्थित हुने नेपाली समर्थकमाझ विश्वकपमा नेपालले राम्रो खेलेर विश्व क्रिकेटको ध्यानाकर्षित गर्न सक्छ। झन्डै तीन महिनापछि सुरु हुने विश्वकपमा सहभागी हुँदै गरेको नेपालका खेलाडीहरूले अहिले घरेलु मैदानमा विश्वस्तरका अनुभवी खेलाडीहरूसँग एनपीएल खेल्दै छन्। युवा खेलाडीलाई विश्वस्तरीय खेलाडीहरूको अनुभव बटुल्ने गतिलो मौका पनि यही हो। एनपीएलकै अनुभव सँगालेर नेपालले विश्वकपमा सानदार प्रदर्शन पनि गर्नसक्छ।
नेपालले विश्व क्रिकेटलाई पछिल्लो दशकदेखि निरन्तर झकझकाउँदै आएको छ। ‘हिमालयमा पनि क्रिकेट?’ भनेर प्रश्न गर्नेहरूले अहिले नेपाली क्रिकेटको आरोहअवरोह सूक्ष्म तरिकाले अवलोकन गर्दै आएका छन्।
विश्व क्रिकेट हेर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), क्रिकेटको महाशक्ति भारतलगायतको साथसहयोग र लगानी वृद्धि हुनसक्यो भने नेपाली क्रिकेटको टेस्ट राष्ट्र बन्ने सपना धेरै टाढा हुँदैन। भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश, अफगानिस्तानपछि नेपाल यो सूचीमा समावेश हुन कति टाढा देखिँदैन।
एसोसिएट राष्ट्रकै हैसियतमा सही, यसका लागि नेपाल क्रिकेट संघ आफैँ बलियो संस्था बन्न नेपाल प्रिमियर लिगलाई एक विश्वस्तरीय लिग बनाउन खोजिरहेको छ।