काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१ मंसिर २०८२
अ+
अ-

काठमाडौं। ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्ल्सवर्थको ७५ रनको साझेदारीसँगै काठमान्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ।

सोमबार सम्पन्न उद्घाटन खेलमा काठमान्डूले साबिक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको हो। जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डूले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। योसँगै पहिलो संस्करणको ५ विकेटको हारको बदला लिँदै काठमान्डूले २ अंक जोडेको छ।

काठमान्डूलाई जित दिलाउन चार्ल्सवर्थले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४६ रन बनाए। २३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।

उनले पहिलो विकेटका लागि आकाशसँग ७० रनको साझेदारी गरेका थिए। आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए। यी दुईको साझेदारीसँगै काठमान्डू जितनजिक पुगेको थियो।

भीम सार्की ३ र मिलिन्द कुमार १९ रनमा आउट भए।

जनकपुरका ललितनारायण राजवंशी र जोन निकोल लोफ्टी-इटनले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो। योसँगै काठमान्डूले १३१ रनको सामान्य लक्ष्य पाएको छ।

ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए। उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।

उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। मध्यक्रम नचल्दा जनकपुर दबाबमा देखिएको थियो। तर, मयन यादवले ३४ रनको इनिङ्स खेल्दै जनकपुरलाई उकासे। काठमान्डूका मिलन्दाले सर्वाधिक ३ विकेट लिएर ४ ओभर बलिङ गरेका उनले १५ रन खर्चिए। शहाब आलम र सन्तोष यादवले समान एक विकेट थपे।