काठमाडौँ। शंकर राईद्वारा लिखित अंग्रेजी भाषाको पुस्तक ट्रायम्फ एन्ड टियर्सको विमोचन भएको छ। सन् १९८६ मा ब्रिटिस सेनामा भएको हवाइ काण्डबारेको यो पुस्तकलाई बेलायती सांसद एलेक्स बेकरले विमोचन गरेकी हुन्।
लेखक राई आफैँ भूतपूर्व ब्रिटिस गोर्खा हुन्। उनले सन् १९८२ मा भएको प्रसिद्ध फोकल्यान्ड युद्धमा भाग लिएका थिए र त्यसपछि ब्रिटिस सरकारबाट सम्मानित भएका थिए। पछि हवाई द्विपमा अमेरिकी र ब्रिटिस सैनिकहरूको संयुक्त अभ्यासपछि भएको बिदाइ भोजमा एउटा सानो घटनाले उग्र रूप लिँदा उनीसहित ११० जना नेपाली मूलका गोर्खाहरूलाई ब्रिटिस सेनाबाट निष्कासित गरिएको थियो। क्षतिपूर्तिबिना निष्कासित गरिएपछि ११० मध्ये धेरै सैनिक बेरोजगार भए। यही घटनाक्रमका आधारमा पुस्तकको नाम विजयदेखि आँसुसम्म राखिएको हो।
“हामीलाई पूर्ण छानबिनबिना सुविधाविहीन ढंगले खाली खुट्टा रित्तो हात ब्रिटिस सेनाबाट निकालिएको थियो। हामीमाथि भएको यस अन्यायका विरुद्ध हामी आजपर्यन्त संघर्ष गरिरहेका छौँ,” लेखक राई भन्छन्।
पुस्तक हाललाई नेपालमा सुम्निमा कलेक्सन तिखेदेवल, र भान्जा स्टेसनरी इलाममा उपलब्ध छ। ११० पृष्ठको पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ।