काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

साभार

दशगजाको भूगोलमा दुवैतर्फका शासकको गोली थापेर अन्तर्राष्ट्रिय कानुनको जीवन्त परीक्षा दिँदै अस्ताएका सूर्य शमशेरको एक राजनीतिक उत्सर्ग

१६ जेष्ठ २०८३
अ+
अ-

पहिले विश्वभारतीमा प्रकाशित र पछि अनूदित भएर २००४ सालको युगवाणी साप्ताहिक (अङ्क २८)मा छापिएको यो कथा चार कारणले गर्दा महत्त्वपूर्ण छ : पहिलो, यसका लेखक सतीनाथ भादुडी बङ्गाली/भारतीय हुन्। थोरै भारतीयहरूले मात्र नेपालको सामाजिक-राजनीतिक विषयवस्तुउपर साहित्यिक रूपमा कलम चलाएका छन्। प्रेमचन्द, राहुल सांकृत्यायन, विराज, बलभद्र ठाकुर, फणीश्वरनाथ रेणु, आदिको लहरमा सतीनाथको नाउँ अघिल्लै पङ्क्तिमा आउँछ। भारतीय स्वतन्त्रता सङ्ग्राममा सक्रिय भादुडीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका निकटतम मित्र समाजवादी नेता जयप्रकाश नारायणहरूसँग जेल-जीवन बिताएका थिए। यो कथामार्फत नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सतीनाथले सघाउन खोजेका छन्। दोस्रो, यो कथाको पृष्ठभूमि र अन्तर्वस्तुमा २००३ सालमा विराटनगरमा गरिएको नेपालको पहिलो मजदूर आन्दोलन र तत्पश्चात् भएको सत्याग्रह छ। नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदूर आन्दोलनलाई बुझ्न पनि यो कथाले सघाउँछ। तेस्रो, यो कथाको अनुवाद गर्ने व्यक्ति सूर्यविक्रम ज्ञवाली हुन्, जो नेपाली भाषा-जाति आन्दोलनका एक अग्रणी र नेपालका जानेमानेका इतिहासकार हुन्। चौथो, यो कथा नेपाली राष्ट्रिय कांग्रेस नजिक युगवाणी साप्ताहिकमा छापिएको हो, जसको प्रारम्भिक चरणका सम्पादकमा लक्ष्मीप्रसाद देवकोटा, नारायणप्रसाद उपाध्याय र कृष्णप्रसाद उपाध्याय (भट्टराई) थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास अध्ययनका लागि युगवाणी अर्को महत्त्वपूर्ण स्रोत-सामग्री हो। समाज अध्ययनको २१औँ अङ्कबाट यो कथा साभार गरिएको हो।

***

[प्रस्तुत कथाका लेखक श्री भादुडी आधुनिक बङ्गला साहित्यमा निकै प्रसिद्ध हुनुहुन्छ। उहाँको जागरी नामक राजनीतिक उपन्यासको बङ्गला साहित्यमा अति उच्च स्थान छ। यो कथा बङ्गलाको श्रेष्ठ मासिक पत्र विश्वभारतीमा प्रकाशित भएको थियो। यसले स्पष्ट गर्दछ कि नेपाली कांग्रेसद्वारा सञ्चालित गत-आन्दोलनले न केवल नेपाली जनताको ध्यान नै आकर्षित गर्‍यो, वरन भारतका अनेकानेक भाषाभाषी र तिनका उच्च साहित्यकारहरूलाई पनि यसले निकै प्रेरणा दियो। कथाको लेखाइले लेखकको गत आन्दोलनसम्बन्धी सूक्ष्म अध्ययन प्रकट हुन्छ। कसले भन्न सक्तछ श्री भादुडी जस्तै लाखौँ बाहिरका मानिसहरू नेपाली जनआन्दोलनको प्रत्येक गतिको अत्यन्त नै सतर्कताका साथ अध्ययन नगर्दै होलान्?ङ्गला भाषाबाट नेपाली भाषामा यस्तो सफल अनुवाद गरेकोमा हामी श्री सूर्यविक्रम ज्ञवालीका निकै कृतज्ञ छौँ – सम्पादक, युगवाणी]

***

“जय पशुपतिनाथ!”

हाई गर्दै सूर्य शमशेर राणाले ओछ्यान छोडे। “ओहो! बिहानको चार बजिसकेछ।”

उनी श्री पशुपतिनाथका देशका मान्छे हुन्। त्यो देशको सरकार पशुपतिनाथका आडमा बसेर इश्तिहार जारी गर्छ; सिपाही “जय पशुपतिनाथ” भनेर गोली हान्छन्; देशसेवक “जय पशुपतिनाथ” भनेर गोली थाप्न छाती उघारिदिन्छन्। राजपरिवारका मानिस जुवामा आफ्ना गोटी जितून् भनेर तथा हाकिमहरू घोट्टा-भाङ खानुभन्दा अघि यही नाउँ लिन्छन्।

त्यही देशको केटो सूर्य शमशेर हो। तेस्रो दर्जाका राणा खानदानको त्यो मानिस हो। तेस्रो दर्जाको भन्दा राजवंशसित अर्को वर्णको रगत मिसिएको परिवार बुझिन्छ। तैपनि तिनीहरू लरतरा होइनन्। शासकवर्गका मान्छे हुन्।

नेपालीहरूले आँखा देखेछन्। उनीहरूले आफ्ना देशमा आन्दोलन थालेका छन् रे!

त्यसो भएर के हुन्छ? सूर्य शमशेरको ऐनको परीक्षा हुन केही दिनमात्र बाँकी छ। बत्ती बालेर ऊ टेबुलका छेउमा पुस्तक लिएर बस्छ, इम्पोर्टेण्ट प्रश्नका उत्तर नोटबाट कण्ठ पार्छ। परीक्षाको प्रश्न-पत्रमा बर्सेनी हुन्छ—“International law is the vanishing point of jurisprudence, explain.” यस पाला पनि यो अवश्य आउने छ। ऊ त्यही पातो पल्टाएर पढ़न थाल्यो। …

ऐन पढ्न आउनुभन्दा अघि सरकारको हुकुम लिएर आउनुपरेको थियो। काठमाडौँका कालेजका नामुद बङ्गाली प्रोफेसरसित तीन सरकारका हजुरियाको गाढा मित्रता छ। उनैका प्रयत्नले उसले ऐन पढने हुकुम पाएको थियो। कति बाधा आइलागे तथा त्यसका विरुद्धमा कति कुरा भए। तीन सरकारको दर्शन गरी सम्मुख उभिँदा त्यो दिन मास्टर साहब पनि अतालिएका थिए।

बाघ गर्जेझैँ घाँटीको स्वर थियो—“अङ्ग्रेजको ऐन पढेर के गर्छस्। गाई खाने, बैरिस्टर हुन वेलाइत जाने? हाम्रो देशमा प्रशस्त न्याय, दर्शन, संहिता, दण्डनीति र पुराण छन्, तिनै पढे भैहाल्छ नि। राणा खानदानको केटोले लेखापढ़ी सिकिस् भने काठमहलमा, होइन भने, सडक बनाउने अड्डामा राम्रो जागीर खा। यो पालाको ठेकदार निकै गुदी भएको छ, राम्रो आमदानी हुनेछ। त्यसो नगर्ने, नराम्रो कुरा गर्न खोज्ने। हिन्दुस्तानका जति नेता ऐन विरुद्ध काम गरेर झ्यालखान पर्छन्, थाहा छैन तँलाई, ती सबैले ऐन पास गरेका छन्। अचेलका केटाहरूको भर छैन। एउटा केटालाई उसपाला ऐन पढने हुकुम दिएको थिएँ। पढ्दा पढ्दै उसको पहिलो काम भयो हाम्रो हुकुम नली चुनाढेरीमा एउटा लाइब्रेरी खोल्ने। के तिमीले त्यसलाई चिनेनौ, मास्टर साहेब, तिमीहरूको नै त त्यो चेलो हो। चुनाढेरीको इन्द्रबहादुरको छोरो।”

जे भए तापनि अन्त्यमा बडो दुःखसँग हुकुम पाइयो। … “काशीमा मालवीयजीको विश्वविद्यालयबाहेक अरू ठाउँ जान हुँदैन, त्यो ठाउँको संस्कार अरू ठाउँ हेरी केही त जाती छ। … सपनाको बाटो नहिडेस्। तँ राणा खानदानको मान्छे होस्। तिमीहरूमाथि नै राज्यको अभिभारा छ। पशुपतिनाथले देखाएको बाटो, बाबु बाजेले देखाएको बाटो नछोडेस्। जो चलेको छ सोही गरेस्। खुकुरी, लहुरोका सट्टा राणाको सन्तानले बन्दूक राइफल माग्यो भने सो कुरा बुझ्न सकिन्छ। तर, संहिता, पुराणका सट्टा अङ्ग्रेजको ऐन—यो कुरा मेरा मगजमा पस्तैन।”

सिगरेटको धुवाँ मुखबाट फ्याँक्तै माझ माझमा गरिएका यी नमिलेका कुरा अहिले पनि सूर्य शमशेरका मनमा छन्। “भो, भत्ताको कुरा नझिक, मास्टर साहेब। ऐन पढ्न भत्ता, बतास, किन्न पैसाको खर्च!”

रातभरी गर्मीले निद्रा परेन। त्यसमाथि बिहान राती नै उठेर पढ्न बस। काशीको होस्टेलको जीवनमाथि उसलाई अरुचि भएको छ, होस्टेलको यो कोठामाथि अरुचि छ, परीक्षामाथि अरुचि छ, पढने पुस्तकमाथि अरुचि छ। ऊ आफ्नै ढिपीले ऐन पढ्न आएको थियो, हाल अलिक दिनदेखि ऐन पढ्नु व्यर्थ हो भन्ने उसका मनमा परेको छ।

संयुक्तप्रान्तको “टेनेन्सी एक्ट” पढने उसलाई के खाँचो? नेपालमा नै बस्ने हो भने भारतीय शासनविधान जानेर उसलाई के काम लाग्छ?

ऐनका दृष्टिमा उसको देश स्वाधीन छ। कुरा र वास्तविकतामा कति फरक हुने रहेछ। यो अद्भुत ऐनका आँखा डेरा छन्। कतापट्टि हेर्छ, बुझिनसक्नु छ। पाँच सरकारतिर हेर्दैछ भन्ने मनमा पर्छ। तर, वास्तवमा उसका आँखा तीन सरकारपट्टि हुन्छन्। … अरू ऐन पढ्न राम्रो लागेन। यो सबै चटक्क छाडेर जान मन लाग्छ। दिनहुँ अखबार हेर्‍यो नेपाली कांग्रेसका सत्याग्रहको खबर देखिन्छ—“भीमभारका मिलहरूमा हडताल भएको आज उनन्तीस दिन भयो; नेपाली कांग्रेसका राष्ट्रपतिका परिवारका सबैलाई समाती कुनै अज्ञात ठाउँमा पठाइएको छ; विराटनगर, जयनगर, रक्सौल, जनकपुर, दार्जिलिङ, देहरादूनमा सत्याग्रही भर्ना गर्ने अड्डा स्थापित भएका छन्। … यीभन्दा बाहेक अरू कति खबर थिए।

विराटनगर जुट मिल।

आफूमाथि अकारण उत्पन्न भएको विरक्तिले उसको मन भरियो। परीक्षा, परीक्षा, के उसलाई अरू कुनै कुरा विचार गर्ने अधिकार छैन। …

पुस्तकमाथि आँखा पर्दा एक्कासि उसका मनमा पर्‍यो—परीक्षाको विषयबाहेक संसारका अरू यावत् विषयको ऊ अहिलेसम्म विचार गरिरहेको रहेछ। … International law is the vanishing point of jurisprudence … ऐन जुन ठाउँ गएर हराउँछ, त्यो राज्य अचम्मको हो। थरी-थरीका प्रश्न त्यहाँ उठ्छन्, ऐनको कुरा कति सूक्ष्म छ। … यो पाला परीक्षामा यु.एन.ओ.का विधानका विषयमा पनि प्रश्न आउन सक्छ। तर, नोट कुन युगको हो—यसमा त्यो बेलाको लीग अफ नेशन्सको विधानमात्र लेखिएको छ। …

खट् खट् खराउ बजाउँदै छेउको कोठामा बस्ने श्रीवास्तव बरण्डाबाट बाहिर गयो।

धत्! बल गरेर के पढ्न मन लाउन सकिन्छ? … ऊ स्टोभमा आगो सल्काउन थाल्यो—चियाको पानी तताउन। … ऊ आफूलाई खोजेर पनि पाउँदैन, बुझ्न पनि सक्तैन। उसको विचारतिर ढल्केको मनमा एक्कासि चिन्ता पस्यो—ऊ आफूलाई आफै दोषी ठान्छ, कता हो कुन्नि, एउटा ग्लानिको काँढाले उसलाई च्वास्स च्वास्स घोच्तै छ।

उसको देशको शासनचक्र अचम्मको छ। भीमभार मिलमा ज्यामीहरूले दिनको दुई आना ज्याला बढोस् भनेर हडताल गरेका छन्। यसमा उसको सरकारले के देख्यो सो उही बुझोस्। यो साधारण कुरालाई उनीहरूले बढाएर एउटा देशव्यापी आन्दोलन सृष्टि गरेका छन्—कुमालेको चक्रले माटाको डल्लोलाई फुलाएर ठुलो पारेझैँ …।

“गुड मर्निङ, बेरिस्टर साहेब! ठीक्क बेलामा आइपुगेछु।” सूर्य शमशेर झसङ्ग भयो। स्टोभका स्वरले तिनीहरू कहिलेदेखि आएर उसका पछिल्तिर उभिएका थिए, उसले थाहा पाउन सकेको थिएन। ऊ उठेर उभिनेबित्तिकै रामचन्द्र उपाध्यायले उसलाई अँगालो हाले।

“कहिले आयौ? एक्कासि?”

“हिजो राती आउनुभयो,” उनको भाई त्र्यम्बकेश्वरले भन्यो। ऊ काशीमा संस्कृत पढ्छ।

“दिल्ली गएको थिएँ। भीमभार मिलका आइमाईहरूमाथि गोली हानेको कुरा लेखी पण्डितजीलाई चिट्ठी पठाएको थियो। त्यही सम्बन्धमा उहाँसँग नेपाली कांग्रेसका पक्षबाट कुरा गर्न गएका थियौँ। अचेल एशिया कन्फरेन्स हुँदैछ, यो राम्रो मौका परेको थियो। नेपालका प्रतिनिधिले कन्फरेन्समा मनपरी कुरा गर्न नपाऊन् भनी अहिले जान परेको।”

“उहाँ के भयो, त?”

“पण्डितजीलाई हाम्रा सरकारी प्रतिनिधिले यसो भनेछन्। राष्ट्रपतिका छोराले भीमभार मिलका मालिकसँग दश हजार रुपियाँ घुस मागेको थियो। उनीहरू दिन राजी नहुँदा नेपाली कांग्रेसका राष्ट्रपतिले मिलमा हडताल औ सरकारका विरुद्ध आन्दोलन आरम्भ गरेका हुन्। स्वास्नी मानिसमाथि गोली हानेको कुरा जम्मै झुट्ठा हो रे। लेखापढी गरेर उनले यी सबै कुरा प्रमाणित गरिदिएछन्, अरू भन्ने कुरा केही रहेन। राष्ट्रपतिका एकमात्र छोराको उमेर कति छ, तिमीलाई थाहा छ? तीन महिना।”

“जय पशुपतिनाथ!” यो अन्याय तथा यो झुट्टा व्यवहारले छेत्रीको रगत तात्दै आयो। बूढा, अन्धा त्रिनेत्रमाथि भक्ति घट्तै आएजस्तो बुझिन्छ।

“यिनीहरू यहाँसम्म गर्नसक्ने रहेछन्।” सूर्य शमशेरका मुखबाट अरू कुरा निस्केनन्। यसो भएको प्रतिवादको तीव्र अनुभवले हो वा वंशपरम्परासित सँगै जन्मेको पछि लाग्ने संस्कारमा ठक्कर लाग्न जाँदा हो त्यो राम्ररी बुझ्न सकिएन।

ऊ ऐनको विद्यार्थी हो। अन्यायका विरुद्धमा टाउको ठाडो पारेर उभिने उसको सत्यनिष्ठा छ कि छैन? उसको भावुक आदर्शवादी मनमा पीर पर्‍यो।

चियाको तातो पानी उम्लेर पोखिई स्टोभ निभाइदियो। धूवाँ र बाफले कोठा डम्म भयो। देशका मानिसको आकाङ्क्षाको आगो पनि पशुपतिनाथका सर्पको फुङ्कार तथा उसको पुच्छरका चपेटाले निभाइदिन्छन् कि डढेलाको अवशेष औ स्वाम्म निभेको आगोको धूवाँमात्र बाँकी रहने हो कि।

त्र्यम्बकेश्वर त्यसलाई स्टोभनेरबाट पर सारेर आफू चिया पकाउन बस्यो। सूर्य शमशेर चियाको बाफका माझबाट पनि उपाध्यायका उत्साहले टल्कने आँखा र मुख देख्न सक्छ। उनी कुन सुरले यो राँकेभूत खोज्न हिँडेका छन्? कसका निम्ति उनको यो एकनिष्ठ साधना हो?

कुराका धाराबाट चुँडेका तरङ्ग उसका कानमा पर्छन्।

“नागरिक हकको माग गर।”

“भीमभारमा गोली चल्यो। तीन जना दिदी-बहिनी गोलीका शिकार भए …”

“वृद्ध, माताजी …”

सूर्य शमशेरका नसाहरूमा झिलिक्क आगो बलेजस्तो भयो।

“हाम्रा निःशस्त्र दाजु-भाइ, दिदी-बहिनी र साना-साना बालक-बालिकाहरूमाथि सङ्गीन प्रहार, मेशीन गनले बराबर गोली बर्साइराखेका छन्।”

के यिनीहरू पशु हुन्? सूर्य शमशेरको गहभरी आँसु भयो।

“तसर्थ सहायताको लागि निवेदन छ। यथा शक्ति तथा भक्ति सहायता गर्नुहोला …”

सूर्य शमशेरको कोमल मन एक्कासि विह्वल भयो। “उपाध्याय, म तिमीसँग भीमभारमा सत्याग्रह गर्न जान्छु।”

उपाध्यायले उसलाई बलियो गरी अँगालो हाले। दुवैका मुखबाट एक शब्द पनि निस्केन।

उनीहरूले यही घडी हिँडिहाल्नुपर्छ। जुरुक्क उठी आफ्ना पुस्तकका जञ्जालको भारी एउटा पुराना पुस्तकका पसलमा लगेर उसले बेच्यो। दाम उपाध्यायका हातमा हालिदियो।

“अब परीक्षालाई पन्ध्र दिन बाँकी छ। सो जाँच दिएर मनपरेको गरे सूर्य शमशेर! रीसका झोकमा केही नगर।” सुपरिण्टेण्डेण्ट साहेबले भने।

“अब त्यो हुँदैन, सर!”

समय छैन, समय छैन, एक छिन पनि नष्ट गर्न हुँदैन।

भीमभार …।

सन् १८१६ को सुगौलीको सन्धिपछि मिलिटरी सर्वे विभागका अमृत सिकदारले दश गज जमीन नापेका थिए। नेपालका छातीमा जर्नेल अक्टरलोनीले पराजयको लाञ्छन चिह्न लाइदिएका थिए—नेपाल र भारतका माझमा दश गज चाक्ला “नो म्यान्स ल्याण्ड”; सबै त्यसलाई दशगजा भन्छन्। यतातिर पाँच गज, उतातिर पाँच गज, माझमा ढुङ्गाको चौतारामाथि एउटा ढुङ्गाको चारपाटे खाँबो छ। यो दश गज चाक्लो अजिङ्गर सोही समयदेखि राज्य खाएको धेरै भोजनले असपट्ट भएर लडिरहेछ। कोसौँ—दार्जिलिङदेखि देहरादूनसम्म!

अवध तिरहुत रेल्वेको भीमभारशाखा यसैका आङमा ठोकिएर चारपाटे ढुङ्गाका खाँबोका अघिल्तिर थामिएको छ। ढुङ्गा त होइन, पाले पो हो। सवा सय वर्षदेखि उभिइरहेछ, पछिलतिरबाट पराधीन भारतको दोष यो स्वाधीन गोब्राह्मणका देशमा पस्न नपाओस् भनेर।

पहिले सुकेका सालका फेद औ मोटा गुप्तीमारा व्यवसायीहरूले परिपूर्ण भीमभारको रेलवे यार्ड; उहाँपछि दशगजा; उहाँपछि पशुपतिनाथको राज्य आरम्भ हुन्छ। यो ठाउँमा भएका सात ओटा मिल बिहान, बेलुका, दिउँसो, रातीका शिफ्टको साइरनबाट झन् तिखो भएको स्वरले महाकाललाई टुक्रा टुक्रा पार्ने चेष्टा गर्छ, औ पन्ध्र हजार ज्यामीका आँखाका सम्मुख उनीहरूले पाल्न पर्ने मानिसको नाङ्गो रूप देखाइरहेछन्। सम्पूर्ण भारतवर्षमा आफ्ना कलकारखाना हुने चोपरा ब्रदर्स फैक्टरी ऐनदेखि बाँच्न यो धर्मराज्यको पृथक् भूमिमा पनि यो राज्यका शासकहरूसँग नाफा बच्छि बच्छि गरेर आफ्नो जरो हाल्न लागिरहेछन्। यसको फल एउटा आन्तर्जातिक समिति यो ठाउँमा पूर्णरूपले खडा भएको छ।

सूर्य शमशेरमाथि सत्याग्रही भर्ना गर्ने भार पर्‍यो, भीमभार क्याम्पमा होइन, नेपालभित्र। अँध्यारो निद्राका दरबारको मसालची—एक एक गरेर बत्ती बाल्दै जति पर त्यो जान सक्छ उति पर त्यसले जान परेको छ। तैपनि उसलाई अलिकता पनि डर लाग्दैन। परीका कथाको बालकझैँ रोमाञ्चको साँबल लिएर ऊ अगाडि बढ्छ। भारतीय राज्यस्थित भीमभार सत्याग्रह क्याम्पमा मानिसको घचारो छ। हडताल गर्ने ज्यामीहरू चामल लिन आएका छन्; अनेक सत्याग्रहमा आफ्नो नाउँ दर्ता गराउन आएका छन्; कार्यकर्ताहरूमध्ये कोही नयाँ समाचार भन्न अएका छन्; कोही नयाँ आज्ञा सुन्न आएका छन्; अरू मानिस रमिते छन्—रमिता हेर्न आएका। सिगरेट मुखमा च्यापेर स्कूलका विद्यार्थीहरू आएका छन्। गोरो वर्ण, दारी जुँघा नभएको कोमल मुखमा शिशुको सरलता छ, देख्ता ठुलो जातका जस्ता देखिन्छन्। यति पर एउटा निवारण गर्न नसकिने आकर्षणले तानिएका छन्। बाटामा तिनीहरू एक मिनेट पनि थामिएनन्, किनभने घरका मान्छे उनीहरूलाई समातेर जान नदेलान् भन्ने डर थियो। तर स्कूलबाट निस्कँदाखेरि सूर्य शमशेरले उनीहरूलाई जो इश्तिहार दिएका थिए त्यो मुनि उपाध्यायजीको नाउँ थियो। मेचमा बस्ने तिनै उपाध्यायजी हुन् कि। कौतूहल एक छिनमा निवारण हुन्छ।

“उपाध्यायजी, यो बालक झापा स्कूलबाट आएको हो।”

“घरबाट भागेर त आएनौ?”

उपाध्यायजी ऊसँग कुरा गर्छन्, आदरले उसको शिर निहुरन्छ। घरबाट भाग्नेलाई भर्ना गर्ने नियम रहेनछ भन्ने उसका मनमा पर्छ। त्यो केही पनि जवाफ दिँदैन। “लौ भैहाल्यो, मन नमार। सबै कुरो हुनेछ। अहिले खाइवरि अलिकता थकाइ मार। बेलुका प्रतिज्ञापत्रमा सही गरे, पर्सि काम पाउनेछौ।” आनन्दले उसको मन परिपूर्ण हुन्छ।

“डम्बर रावल, जाउ, पहिलो पालो फेर्ने समय भयो। मिलका लागि एक बोरा कोइला पनि दशगजाबाट छिर्न नपाओस्। हिजो उनीहरूले एक ट्रक कोइला मिलिटरी लरीमा हालेर मिलमा लगे। रेलवे यार्डको कोइला जहाँको त्यहीँ रहोस्। यसैमा सत्याग्रहीहरूको बहादुरी छ। दोबर ज्याला दिएर पहाडबाट नयाँ ज्यामी ल्याएको उहाँपछि देखिनेछ। आफ्नो ठाउँबाट डेग नचले। गोली हानेर मारे तापनि खुकुरी नछोए; जाऊ।”

वेस्टकोट लाएको एउटा नेवार भर्‍याङ उक्लँदै आउँदै छ। त्यसको हिँडाइ आत्म-विश्वासपूर्ण छ। नेपालको मङ्गलभन्दा पनि नेवार जातिका खोसिएका गौरवको उद्धार गर्न आतुर भएको उसको मनले उसलाई बढ्ता उत्तेजित गराएको छ। त्यसैले उसको चाक्लो अनुहारमा दृढ सङ्कल्प झल्किरहेछ। बाघका गर्दनमा खुकुरी हान्न लाग्दाखेरि पनि आफ्ना चारैतिर भएका मान्छेहरूप्रति उसका हावभावमा यस्तै अटेरी तुच्छताको भाव देखिने छ।

यिनै उपाध्यायजी हुन् कि?

टल्कने आँखाका कुनामा दुई-तीन ओटा नजाँनिदा चाउरी परेका छन्। मुखको छाला अलि खुकुलो भएजस्तो छ। कपालमा लाएको टोपीबाट उसले नेपाली राष्ट्रिय कांग्रेसको एउटा इश्तिहार झिकेर दियो।

“महेशगञ्जमा सूर्य शमशेरले यो चिट्ठी तपाईंलाई दिनु भनेर दिएथे। मलाई भर्ना गर्नु भनी यसमा भनेको होला।”

“कहिले दिएथे?”

“छ-सात दिन भए होलान्।”

“त्यहाँ कति मान्छे थिए?”

“गाउँका आधा मान्छे हुँदा हुन्।”

“यो कुरा टिपिराख, भीमराज! सूर्य शमशेरको दौडाहाको बाटो, गाउँको नाउँ, मिति एउटा प्रतिज्ञापत्र देऊ … लेखपढ गर्न जानेका होओइनौ! नाउँ? … बाबुको नाउँ? … गाउँ त महेशगञ्ज अहिल्यै भनेको होइन? सरकारले तिम्रा हल-गोरु धन-सम्पत्ति सर्वस्व गर्‍यो भने?”… यो विषयको विचार गरेर ऊ आएको थिएन। ऊ अलिकता आत्तिएजस्तो भयो। उहाँपछि भन्यो, “हुन्छ, त्यसका लागि पशुपतिनाथ छन्।”

“हो, राम्ररी विचार गर, बडो गाहारो काम छ। … यो ठाउँमा बुढी औँलाको छाप लाऊ। … भीमराज! यी दाजुलाई केही खाजा दिन भन। यिनीसँग सूर्य शमशेर कता गएछन् सो बुझ। बाराहक्षेत्रतिर लागेको भए लरी-ड्राइभरका हात चिट्ठी अवश्य पठाउनुपर्छ।”

दिग्विजयीझैँ त्यो इनारतिर गयो। उसले छाप लाउँदैमा नेपाल सरकारको सिंहासन ढलपल गर्न लागेजस्तो भयो। भित्ता पुर्‍याइकन त्यो त्याग गर्न तत्पर छ। सत्याग्रहीका पुस्तकमा उसको नाउँ दर्ता भैसक्यो। तैपनि सिंहदरबारको जग नहल्लनु अचम्मको कुरा छ।

उपाध्यायजीका सम्मुख एउटा स्वयंसेवक आएर उभियो।

“के खबर छ, प्रधान! ड्युटी छोडेर किन आयौ?”

“बिहानको रेलबाट एस.डी.ओ. र डी.एस.पी. आएका थिए, मसँग प्लेटफार्ममा अलिबेर कुरा भयो। उनीहरूले भने—‘उनीहरू क्याम्पको कुनै विषयमा कुनै प्रकारले शान्तिभङ्ग हुने खण्ड नपरी हस्तक्षेप गर्ने छैनन्।’ उहाँपछि उनीहरू पल्लापट्टि मिलतिर गए।” एउटा अर्थपूर्ण हाँसो मुखमा ल्याएर उसले भन्यो फर्केर आएर—अहिले बुझेँ, उनीहरूले त उल्टो कुरा पो गरेका रहेछन्। तपाईंसित भेट गर्छन् कि भनेझैँ लाग्छ।”

“हुन्छ। कोशीका बाँधका निम्ति आएको कुनै माल नछेक्नु है। त्यसो भयो भने एस.डी.ओ.ले केही भन्ने सुयोग नै पाउने छैनन्।”

भीमराज, दुई जना स्वयंसेवकलाई ढ्वाङ र घण्ट लिएर बजार जान भन। उनीहरूले सबैलाई आज बेलुका चार बजे दशगजाका ढुङ्गानेर सभा हुन्छ भनी भनून्। बजारमा १४४ लागेको छ। दशगजामा सभा हुन्छ।”

फेरि दगुर्दै प्रधान आयो। हातमा एउटा अखबार थियो। भर्‍याङ मुनिदेखि नै कराई-कराई यो पढ्दै आउँदै थियो—“नेपाल आन्दोलनका विरुद्ध बङ्गालका ठुला नेताहरूको वक्तव्य।”

आफ्नो आफ्नो काम बिर्सेर सबै घिच्रो तानेर प्रधानका चारैतिर जम्मा भए। सबै कराएर खबर पढन थाले। प्रधानको घर दार्जिलिङ हो। अखबार पढिसकेपछि उसले भन्यो—“यिनीहरूलाई हामीले राम्ररी चिनेका छौँ।”

“कराएर के हुन्छ? दलालको पनि जात हुन्छ र? जाओ आफ्ना आफ्ना काममा जाओ।”

मन नपरे पनि उपाध्यायजीको हुकुम सबैले मान्नुपर्छ।

“यो को हो, वीरबहादुर!”

“तपाईंसित फिराद गर्न आएको छ।”

“हजुर, म नूनको व्यापारी हूँ, सत्याग्रहीहरूले मेरो नुनको गाडा छेके।”

“सत्याग्रहीहरूले? कदापि होइन। पक्कै बाहिरका मान्छे हुन्। अहिल्यै गएर बजारको दलका मान्छेहरूलाई मिललाई काम लाग्ने कुनै माल पनि नछेक्नु भनी बुझाइदेऊ।”

एउटा पाको उमेरको गोर्खाली भर्‍याङ उक्लेर आउँदै छ। उसको मुखको भाव निर्विकार र निर्लिप्त छ। हात खुकुरीमाथि छ।

“सूर्य शमशेर राणा हाम्रा गाउँमा गएका थिए। त्यो गाउँमा लोग्ने मान्छेमध्ये मै एउटा थिएँ। जो लडाइँमा मारिएनन् ती अझ पल्टनमा नै छन्। सूर्य शमशेरले उपाध्यायकहाँ गएर लडाइँमा नाउँ दर्ता गराउन भनेको थियो। मेरा बा पहिलेका लडाइँमा पर्नुभएको थियो, मेरो भाइ अझ अङ्ग्रेजका पल्टनमा छ। मेरो पनि कांग्रेसका फौजमा भर्ना हुने मन छ। तर बन्दूक दिनुपर्छ। हाम्रा दिदीबहिनीमाथि गोली चलाउने सरकारका फौजलाई एकचोटि हेर्नुपर्छ।

“यो ता बन्दूकको लडाइँ होइन।”

“उसो भए खुकुरीको हो त? खुकुरीले के बन्दूकसँग लडाइँ गर्न सकिन्छ?”

“नाउँ ··· गाउँ … बाबुको नाउँ।”

“बन्दूक हान्न नपाए कलकत्ता गएर दरबानको काम किन नगर्नु?”

“तिम्रो बुढी औँला यता लेऊ त।”

“कोरा कागतमा म औँलाको छाप लाउन्न।”

“लौ, उसो भए तिमो यहाँ काम छैन।”

“नभए नहोस्। खुकुरीले मात्र म एउटाले लडाइँ गर्नु। यो लडाइँ गर्नुभन्दा खोलाका किनारमा आइमाईसित ठट्टा गर्न बरु जाति।” रिसले आगो भै ऊ यी काफरहरूका नाचघरबाट बाहिर निस्क्यो।

सूर्य शमशेर एउटा गाउँदेखि अर्को गाउँ दौडाहा गर्दैछ। महेशगञ्ज, चतरामठ, चुनाढेरी, झापा, रामपुरा, कीचकबध, पूर्व एक नम्बर, पूर्व दुई नम्बर। बाटाका दुईतिर मान्छे जम्मा हुने त्यो देश होइन। बाटो भनेको मान्छे हिँड्ने बाटो हो, भाग्य राम्रो भए घोडा हिँड्ने बाटो भेटिन्छ। मान्छे भनेको पहाडका खोलाका किनारका जो केही घर हुन्छन् तिनैलाई भनेको हो भनी बुझ्नु। जहाँ बाटो छ, मान्छे छन्, त्यहाँ दुई चार जना झमक्क रात परेपछि ऊसित भेट्न आउँछन्। खस्याक-खुसुक गरेर सोध्छन्—“को! सूर्यविक्रम राणा? यो सालको रुखमुनि पर्खनु होला। आमा खाने कुरो पुर्‍याउन आउनुहुनेछ। तपाईंलाई खुवाउने उहाँको ठुलो इच्छा छ। यो औँठी लिनुहोस्। यो मेरी स्त्रीको, नेपाली राष्ट्रिय कांग्रेसलाई दान हो।” कसैको पाइलाको स्वरजस्तो सुनियो। गाउँमा सरकारको गुप्ती पुलिस को हो, को होइन बुझ्न गाहारो छ। खड्गबहादुरको त कुरै छैन। दिया-सलाई र चियाको उसको एकहट्टी छ। त्यसले थाहा पायो भने नाश भयो। अहिल्यै कर्नेल साहेबकहाँ मान्छे पुग्न बेर छैन। भैगो, होइन रहेछ, … गाई-भैंसी केही होला …।

सूर्य उदाएदेखि अस्ताएसम्म हिँड्दा पनि हिँड्नु टुङ्गिदैन। इश्तिहारको भारी पनि यति गह्रौँ हुन सक्ने रहेछ … उसले योभन्दा अघि कहिल्यै अड्कल काट्न सकेको थिएन। जम्मै यौटै ठाउँका मान्छेलाई बाँडेर सक्न मन लाग्थ्यो। पहाडको उकालो बाटोमा इश्तिहारको पोको दुई हातमा नचाउँदा पनि झन् झन् गह्रौँ नै हुन्थ्यो। समय छैन, जति दिन काम गर्न भियाइयोस्। काठमाडौँ खबर पुग्न कति दिन लाग्छ र, उहाँपछि नीलकण्ठको घाँटी निचोरेर यिनीहरू दण्डनीतिको विष छरिदिनेछन्। त्योभन्दा अघि नै चुपचाप गर्न सके जति काम गरिहाल्नुपर्छ।

यो सालको वन कहिल्यै नटुङ्गिने हो कि। यौटी केटी सुकेका दाउरा बटुल्दै छ।

“बहिनी गाउँ कति टाढा छ?”

“दगुरेर गयौ भने पनि स्वाँ स्वाँ नहुँदै पुग्नेछौ। नजिकै छ। हिँड, म पनि जान्छु।”

“दाउराको भारी बोकेर नै तिमीहरूको दिन बित्यो, होइन?”

“त्यतिमात्र किन हुन्थ्यो, म त भैंसी पनि चराउँछु, पानी पनि ल्याउँछु, भात पनि पकाउँछु।”

“त्यसो भनेको होइन। राणाजीका स्वास्नी मान्छेलाई कहिल्यै देखेकी छौ? आङ भरी गहनै गहना हुन्छन्।”

केटीका हेराइमा केही सन्देह देखियो। “पोहोर कार्तिकको पूर्णिमाका दिन बाराहक्षेत्रमा देखेथेँ। पशुपतिनाथले जसलाई जे दिऊन्।” … गाउँ पुग्ने बित्तिकै गोर्खाली रमणीहरूले सूर्य शमशेरलाई घेरे।

“त्यो कागतको बिटो के हो? सिमाना पारीबाट कागत किनेर ल्याएका हौ कि?”

लडाइँमा उसको छोरो मारिएको थियो। त्यो बर्सेनी सिमाना पारी जिल्लाको सदर अड्डामा पेन्शन लिन जान्छे। जाडोमा घरका भित्ता चर्केका ठाउँमा टाल्न भनेर फर्कंदा पुराना अखबार किनेर ल्याउँछे।

“मलाई एउटा, मलाई एउटा।”

“हुँदैन, यो उपाध्यायजीको चिट्ठी हो। तिमीहरूका गाउँमा त बाहुन छेत्री छैनन्। तब यो कसले पढ्ने। उपाध्यायजीले लेखेको छ, तिमीहरूको गाउँमा लोग्ने मान्छे कोही छैन; यतिका मान्छे अङ्ग्रेजका पल्टनमा भर्ना भएर मरेका केका निम्ति हो?”

“पेटका लागि।”

“एक बीस र दुई कम्पनी पेन्सन पाउँछु। उसले प्राण नदिएको भए यो कताबाट आउँथ्यो?” …

“बाघले पनि त खान्छ, रोगले पनि त मान्छे मर्छन्, पैसा कमाउन मन भए लडाइँ गरेर नै कमाउनु जाती हो। लडाइँमा गएर मरेदेखि यो वर्षको अन्त्यमा मृत्युको गीत गाएर हामीले गरेको पूजा उसले पाउने छ।”

कुन कुरा गरे यिनीहरूका मनमा प्रभाव पर्छ सो ठुलो खानदानको सूर्य शमशेरले जानेको थिएन। तर बाहुनीहरूमाथि सिपाहीहरूले अत्याचार गर्छन् भनेको जब यिनीहरू सुन्छन् यिनीहरूका आँखा धपक्क बल्छन्, स्वास्नी मानिसहरूलाई समातेर कहाँ लगेर राखेको छ कसैलाई थाहा छैन, बाँचेको मरेको पनि खूँट छैन।

सूर्य शमशेरले यो एउटा नयाँ ज्ञान पायो। पुरुषको अभाव भएको यो देशमा स्वास्नी मान्छेको कदर छैन भने पनि हुन्छ भनी उसले चिरकालदेखि जानेको थियो। पहाडका गोर्खाली रमणीहरू वनमा चितुवा मारेर घर आई यो कुरा कसैलाई सुनाउने केही प्रयोजन छ भनी ठान्दैनन् भन्ने उसले सानो उमेरदेखि नै सुनेको छ। बाहुनीका निम्ति उनीहरूका मनमा यत्रो पीर।

भोलिपल्ट बिहान उनीहरू सूर्य शमशेरलाई निकै टाढासम्म पुर्‍याउन आए—खोलाका किनारमा सुन्तलाको घारीसम्म।

‘फर्कंदा यही बाटो आए।”

“त्यो दिन मेरै घर बस्न पर्छ नि!”

“तिमीहरूको लडाइँ-सडाई सकिएपछि एक चोटि दुलहीलाई लिएर हाम्रो गाउँमा आए। अहिले रूखहरूमा फल लागेका छन् सुन्तला पाक्ने बेलामा आए।”

“दुलहीलाई चितुवा मार्न सिकाइदिउँला। सबै बल गरेर मुखमा हाँसो ल्याउने चेष्टा गर्थे। सूर्य शमशेरले सबैका हातमा केही इश्तिहार हालिदियो। यी खेर गए जाऊन्।

नीला पहाडका घेरै घेरा रूपी लहरीका माझमा सामुद्रिक घोडा टाउको ठाडो पारेर हिउँले ढाकेको मकालुको शिखर अघिल्तिर उभिएको छ, बिहानको घाम ताप्ता पाएको ईषत् गुलाफी रङका मातमा त्यो छ।

“यही मकालुलाई हेरेर भन्छु, सुन्तला पाक्ने बेलामा फेरि आउनेछु।”

यो पाला ठाडो उकालो थियो। सूर्य शमशेर कम्मरको पटुका फनफनि बलियो गरी बाँधी अगाडि हिँड्यो। दायित्व र चिन्ताका भारले गर्दा त्यो नुहेको छ। संन्यासी हो कि! गेरुवा लुगा, कमण्डलु, रुद्राक्षको माला। … “प्रणाम!”

“चिरायु भए! तिमी नै सूर्य शमशेर राणा हौ?”

“कहाँबाट आउनु भयो? चतरा मठबाट हो कि?”

“अँ। भीमभार क्याम्पबाट यो चिट्ठी तिमीलाई दिन भनी पठाएको छ। आवश्यक चिट्ठी हो। बाराहक्षेत्रको कोशीबाँध बनाउने दलका ट्रकको ड्राइभरले मलाई दिएको हो।”

हस्ताक्षर त उपाध्यायको जस्तै छ : “एक दिन पनि अरू ढिलो नगर। चिट्ठी पाउने बित्तिकै फर्केर आऊ। तिम्रा टाउकाका निम्ति दश हजार रुपियाँका इनामको घोषणा भएको छ। तिमीहरूको आमलकपुरको घर-खेत सर्वस्व भयो। तिम्रा घरका मान्छे अघिबाट नै भागेर अङ्ग्रेजी राज्यमा आइपुगेका थिए। घुमाउरो बाटो आए। कसैको विश्वास नगरे। धेरै रुपियाँ खर्च गरेर कर्नेल साहेबले यतातिरका भारतीय पुलिसलाई पनि हात लिएका छन् भन्ने सुन्छु। तिमी अङ्ग्रेजी राज्यमा पनि एक्कासि नपसे। ढुङ्गाको चौतारादेखि केही पर पूर्वतिर दशगजामा आएर पख। शुक्रवारका दिन आधारातपछि तिमीलाई निरापद ठाउँमा लगेर राख्ने चेष्टा गर्नेछु। उपाध्याय।”

“जय पशुपतिनाथ!”

मान्छेका घरनेरबाट पनि जवाइ हुँदैन। थोरै बोल्ने बानी भएका संन्यासीले उसलाई वन पर्वतको बाटो देखाउँदै लिएर हिँडे।

सूर्य शमशेरको मनको अवस्था कुरा गर्नेजस्तो छैन।

मोहिनी के आफ्नो माइत गई? ससुराज्यु रात दिन मातेर बसिरहनुहुन्छ। राजद्रोही ज्वाइँकी स्वास्नीलाई के उहाँले आश्रय दिनुहोला? त्यसो गर्दा जागीर खोसिन्छ। घरका मान्छे अवश्य टेरहागाछीको घरमा आए होलान्। भैगो! मान्छेको राज्य नभएको ठाउँ दशगजा थियो र बाँचिएला। कुनै युक्तिले त्यहाँ पुग्न पाए भैगयो। त्यो ठाउँमा न नेपालको लालमोहरको प्रताप पुग्छ न त भारतको रातो फिताको प्रभाव नै छ। आन्तर्जातिक ऐनको स्वर्णराज्य दशगजा हो—त्यो भविष्यका संसारको रूपरेखा हो। त्यहाँ बसेर जति मन लाग्छ नेपालका सरकारलाई गाली गर, मिलका ढोकामा बन्दूक लिएर उभिएका सिपाहीलाई तिमीहरूकै तलब बढाउन यो आन्दोलन गरेको हो भन, कसैले केही भन्न पाउँदैन। शिवका त्रिशूलमाथिको त्यो देश हो। एक हात पर सिमानामा उभिएर सिपाहीले उसलाई पक्रन हात पसायो भने पनि उसलाई समात्नसक्ने छैन—त्यो ठाउँमा त्यसको हात अवश हुनेछ। चुम्बकको माझ दशगजा शक्तिका प्रभावदेखि बाहिर छ; दुईतिर जति गयो उति शक्तिको प्रभाव पर्नेछ। …

“भोलि शुक्रवार होइन, संन्यासी महात्मा?”

दिन कालको सम्झना राख्न नसक्ने उसको अवस्था थियो। क्याम्पबाट बाइस दिनअघि निस्केको थियो। सम्झी हेर्दा यो बाइस दिन एक सर्को काम गर्दै बितेको थियो। तैपनि के उसले ढुङ्गाकी अहल्यालाई बिउँझाउँन सक्यो?

टह-टह जूनमा घुँडा घुँडासम्म धुलो भएको दशगजा एउटा नदीजस्तो देखिन्छ। सन्यासी महात्मा उसलाई लिएर निर्मानवका राज्यमा ओर्ले।

“भोक लाग्यो कि? उही बिहान दुईचार ओटा केरा खाएका थियौ।”

“होइन, उस्तो भोक त लागेको छैन।” यति बेरसम्म सूर्य शमशेरले भोकको कुरा विचार गर्ने समय नै पाएको थिएन।

“बाह्र बज्यो होला? हडताल नभएको भए रातीका शिफ्टको साइरनका स्वरले पनि समय बुझिने थियो।”

“बाह्र बज्न ढिलै छ भनेजस्तो लाग्छ। म गाउँबाट केही खाने कुरो खोजेर ल्याउँछु। तिमी म नफर्कुञ्जेल यहीँ मलाई पर्खेर बस।”

संन्यासी महात्माका लुगाको रङ सेतो भएको भएदेखि अहिले परसम्म उनी देखिँदा हुन्।

भीमभारका बत्तीको क्षीण ज्योति देखिँदै छ। अलि पर दशगजाका दुवैतिर दिनजस्तो उज्यालो छ—एकतिर मिलको ढोका तथा अर्कातिर रेलवे यार्ड छन्। दुवैपट्टि अवश्य बन्दुक लिने सिपाहीहरू छन्। जुनेली रातमा आकाशका ताराहरूको पनि तेज यस्तै मलिनो छ। उत्तरपट्टि क्षितिजको अँध्यारो पहाडमाथि ध्रुवतारा छन्—सप्तर्षिको हलोले जोतेर ढुङ्गाकी अहल्यालाई जीवित पार्नुपर्छ भनी उनी देखाइरहेछन्। पर अर्को एउटा ताराको पुञ्ज छ—यो अद्भुत स्थितिमा त्यो अद्भुत देखिँदै छ। रेखा कोरी जोरेर हेर्दा अङ्‌ग्रेजी अक्षरमा यू.एन.ओ. लेखेजस्तो देखिन्छ र कस्तो मोजको कुरा योभन्दा अघि कुनै दिन यस्तो देखिएको थिएन। … दशगजाको एकापट्टि चिरकालसम्म उसले अब जान हुँदैन। अर्कापट्टि गए पनि उसलाई समातेर नेपाल पठाइदिन्छन्—उहाँपछि काठमाडौँका झ्यालखानामा शुक्रराज शास्त्री औ दशरथचन्दसरी कुकुर बिरालोझैँ उसले मर्नुपर्नेछ। त्योभन्दा बाँचुञ्जेल यही दशगजामा बस्नु नै जाती छ। आन्तर्जातिक ऐनबमोजिम दशगजामा पसल थाप्न पाइन्थ्यो कि? पानको पसल! जा! कति नचाहिने कुरा गरेको। उपाध्याय अहिल्यै आइपुग्न बेर छैन।

पछिल्तिर जूनमा मान्छेको छाया देखियो … यति छिटै संन्यासी महात्मा खाने कुरो लिएर आइपुगे कि कसो हो!

“ए भाइ! यहाँ के गर्दै छौ?”

त्यो मान्छे मोटोघाटो थियो। जूनका प्रकाशमा राम्ररी बुझ्न नसके तापनि त्यो मान्छे निकै पाको देखिन्थ्यो। एक्कासि सूर्य शमशेरले सम्झे दशगजा अमानुषी देश हो, चोर डाकू खूनीको अन्तिम आश्रय हो, ऐनका जालदेखि उम्की केही समय तन्मय भएर बस्ने ठाउँ हो।

“मेरा कुराको किन जवाफ दिँदैनौ? नौला मान्छे हौ कि? घर कहाँ हो? लुगाले त नेपालीजस्ता देखिन्छौ। डाकू हौ? जवाफ दिँदैनौ भने भैगो, खोइ एउटा बिडी देऊ त।”

“बिडी छैन।”

“सिगरेट पनि छैन? भए मोज हुन्थ्यो। ठुस्स मुख लाएर किन बसेका? गाईका घाँटीमा झुण्ड्याएका घण्टाको स्वर बसी-बसी सुन्दै छौ कि? सबै नेपालतिर जाँदै छन्। तिमीहरूका राज्यमा गाई चरेको केही तिरो तिर्न पर्दैन, त्यसैले गएका। तर, तिमी पनि जान पाउँदैनौ, म पनि जान पाउँदिन, हामी गाईभन्दा पनि अधम छौँ।”

त्यसको अमार्जित कण्ठस्वर पनि केही गह्रौँ भयो। सहानुभूतिशील स्वरले गर्दा सूर्य शमशेरको मन पनि फुक्तै आयो। नचिनेको मान्छे आफ्नै हो कि भनेजस्तो लाग्यो। त्यो मान्छेको कहिल्यै नथामिने कुराको धारा कानमा पुग्थ्यो।

“मेरो त झन् दुवैतिरका पुलिसमा हुलिया भएको छ। दुई-चार सय रुपियाँ नेपाली पुलिसलाई घुस खुवाउन सके यो धर्मराज्यमा सात खून माफ हुने थियो। सात नभए पनि जुन तीन खूनको ममाथि चार्ज छ ती त पक्कै माफ हुने नै थिए। अहिले के खान्छौ भन त? पैसा नभए एक-एक पाइलामा दुःख पर्छ। तीन दिनअघि आई मेरा दलका मान्छेले मलाई रुपियाँ दिने कुरा थियो। सबै अहिले लुके। एकचोटि फर्कन त पाऊँ, उहाँपछि ती मोराहरू स्वाद पाउँनेछन्।”

कुराका निहुँले, नौलो मान्छेलाई उपदेश दिने निहुँले, त्यो आफै नानावलिका कुरा गरिरहन्थ्यो, कहिले गाईका बथानमा लुकेर उसले सिपाहीको आँखा छलेको थियो; असिस्टेण्ट हाकिमका घुसको दर दिन-दिन बढ्दै छ। उसका केटाकेटीमा पचास कम्पनी थियो, अचेल चार सय घटीमा कुरै छैन; आज भारतीय इलाकाका पुलिस साहेबले क्याम्पका सबै जनालाई समाते; रेलवे यार्ड पल्टनका सिपाहीले भरिएको छ। अरू कति कुरा यसले गर्‍यो।

सूर्य शमशेरको मन झसङ्ग भयो—संन्यासी सरकारको गुप्ती चर त होइन? यो मान्छेका हात उसलाई छोडी जानी-जानी ऊ गएको त होइन? यो ऐनदेखि बाहिरको साथी भए पनि उसलाई नराम्रो लागेको थिएन। आफूले कुरा गर्ने माफीकको मान्छे नभए तापनि उसका कुरा सुनिरहुँ भनेजस्तो त मान्छे पक्का थियो। ऊ यसका मित्रहीन जीवनको आश्रय थियो; यसैसित बसी कति दिन काट्नपर्ने हो, को जानोस् …।

जूनको प्रकाश सूर्य शमशेरका फाउन्टेन पेनका सुनको क्लिपमाथि पर्‍यो। पाको साथीका चालीसे लागेका आँखामा पनि त्यो झलक्क झल्क्यो। एक छिनमा श्मशान वैराग्यका झ्याउबाट उसको स्वाभाविक लोभातुर मनले टाउको ठाडो पायो—उसले जे गरेर पनि बाँच्न पर्छ। दशगजाको बालुवाको थुप्रो आफ्नो हाडखोड दिएर मलिलो पार्ने उसको इच्छा थिएन। यो मान्छे देख्ता त ठुलै होला भनेजस्तो छ, नत्र यसका पाकेटमा सुनको कलम किन हुन्थ्यो? पितलको त होइन? घरबाट यसले आफूसित धेरै धन पनि ल्याएको हुनुपर्छ। दुवैतिरका पुलिसलाई केही घुस खुवाउन पाए जता मन लाग्यो उतै जाने उसको अबाध अधिकार हुने थियो। उहाँपछि यतातिरका दुईचार गृहस्थका गाई रातारात उतातिर पुर्‍याई उपरियालाई सुम्पन पाए भैगो। उसका मुखमा दृढ निश्चयको कठोरता देखियो—रुखो स्वरले त्यसले भन्यो—“तिम्रो कलम देऊ।”

यो आशा नगरेको आज्ञाका रुक्षताले गर्दा सूर्य शमशेर झसङ्ग भयो। अहिलेसम्म ऊ विचार गर्दै थियो—दशगजाका दृष्टिमा सबै समान छन्। देशप्रेमी औ डाकू यो ठाउँमा एक भएका छन्। भविष्यको विश्वव्यापी ऐनको रूपरेखा यही हो कि? नचिनेका साथीको एकोहोरो कुरा उसका कानमा पर्थ्यो। तर, यसले उसका विचारमा कुनै वाधा पारेको थिएन। तर, यो हुकुमको स्वर नै बेग्लै थियो—संन्यासी महात्मा कि उपाध्याय कोही यो बेला आइपुगे कस्तो हुन्थ्यो। मन दह्रो पारेर उसले जवाफ दियो, “किन?”

“मलाई चाहिएको छ। धेरै कुरा नगर”—यसो भन्दाभन्दै उसले सूर्य शमशेरको एउटा हात बलपूर्वक समात्यो, औ आफ्नो अर्को हातले उनका पाकेटबाट कलम झिक्यो। सूर्य शमशेरले उसलाई कुनै प्रकारको बाधा पुर्‍याएनन्। एक्कासि भएको यो घटनामा सूर्य शमशेर भासियो।

“अरू केही छ? रुपियाँ पैसा? हेरूँ, कम्मर, तिम्रा दुई ओटा हात त स्वास्नी मानिसका हातजस्तै नरम छन्। धेरै चलमल गर्‍यौ भने यहीँ सिद्धयाइदिउँला।”

डरले सूर्य शमशेर थर्र कामे। उनीसँग चुनाढेरीकी उही बुढीको सिन्दूर दलेको असर्फी छ, झापामा सालका रुखमुनि दिएको औंठी छ; सुन्तलाको बोटका छायामुनि दिदी-बहिनीहरूले दिएको जन्तर र टिक छन्, तरुनी विधवाका आँसुले पवित्र पारेको सैनिक तक्मा छ औ कति दाजुभाइहरूले जीवनभरी जम्मा गरेको जेथा छ। उनीहरू सबैले नेपाली कांग्रेसको आन्दोलनमा उपाध्यायजीलाई दिन भनी ती सबै कुरा दिएका थिए। बुढीले भनेकी थिई, उपाध्यायजीको दक्षिणा; एउटाले जन्तर दिँदा कार्तोसको मोल भनेको थियो, असर्फी दिँदाखेरि बुढीले भनेकी थिई जो गोली लागेर मरे तिनीहरूका छोरा-छोरीलाई गुलियो र अलैंचीदाना किनी दिए। यतिका हृदयबाट मथिएर निस्केको सहानुभूतिको दान आफ्नो प्राण जोगाउनका निम्ति यो मान्छेका पोल्टामा ऊ त्यसै हालिदिन सक्तैन। कति सौभाग्यवतीको सिन्दूर, कति पतिव्रताको सम्झना, कति वेदनाका आँसुमा मुछिएका दान, यो मान्छे घुस खुवाउन खर्च गर्ने। … संन्यासी महात्मा पक्कै सरकारको गुप्ती चर रहेछ। थालनीदेखि यो उसको जाल नभए के हो? अरू विचार गर्ने समय छैन। बलैले झ्वाट्ट तानेर उसले आफ्नो हात फुस्कायो। मिलको ढोका र रेलवे यार्डको बच्ची ताकेर प्राणका भयले ऊ दगुर्‍यो। दीपशिखा पुतलीलाई आफूतिर तान्छ।

हेर्दा कति वर छ, दगुर्दा बालुवामा खुट्टा भासिन्छन् … पछिल्तिरको खुट्टाको स्वर क्षीण हुँदै आउँदो छ मनको भ्रम त होइन—ऊ दशगजाको ढुङ्गाको चारपाटे खाँबो देखिँदै छ—यति जाबो बाटो पनि कहिल्यै शेष हुँदैन कि … मिलको ढोका, रेलवे यार्ड, छातीको उत्ताल स्पन्दनसँग काम्दै छन्—यो ठाउँलाई दिनझैँ उज्यालो पारेर राखेको छ—दुवैतिर बन्दुक लिने सिपाहीहरूको पल्टन—आशा नगरेको कुरा होइन तैपनि किन हो छातीको स्पन्दन एक्कासि थामियो।

सूर्य शमशेर! त्यो सूर्य शमशेर नै हो! दुवैतिरका राइफलले एकैचोटि यो आन्तर्जातिक नाच-घरका मधुर ध्वनिको आफ्ना कर्कश स्वरले खिसी गरे।

दुई ओटा धुवाँका मुस्लाले जर्नेल अक्टरलोनीको दम्भ ढुङ्गाका रूपमा परिवर्तन भएर बसेको चारपाटे खाँबोलाई ढाके। दुईतिरबाट आएका गोली सूर्य शमशेरको शरीरका कुन vanishing point मा पसेर हराए सो कहिल्यै कसैले जान्न सक्ने छैन। परीक्षा नदिए तापनि ऐनका प्रश्नको उत्तर उनी दिएर गए। पछिल्तिरबाट सूर्य शमशेरको उही एक छिन अघिको पाको मोटो साथी आयो। अविचलित हातले कम्मरको पटुका फोएर उसले गहनाको थैलो झिक्यो। त्यसबाट असर्फी, जन्तर झिक्ता-झिक्तै ऊ नेपाली सिपाही भएतिर लम्क्यो—उसका हातमा त्यसले कुन्नि के हालिदियो।

“अरू छैन। उतापट्टिको उसलाई पनि त दिनुपर्छ। सरकारबाट पाँच हजार त पाइहाल्ने छौ।”

त्यो पछि ऊ यतातिर आयो—“हाल्ट।” हुकुमदार? भारतीय सेनाले नियममा त्रुटि गर्ला भन्नै पर्दैन—“फ्रेण्ड।” चाँदीको तक्मा भारतीय सिपाहीले आफ्नो जङ्गी पोशाकका पाकेटमा हाल्यो, अरू के के कुरा पनि हाल्यो।

“होइन, होइन, अरू छैन। उतापट्टि पनि त खायो। मैले अब उतातिरका सबै हाकिमहरूलाई पनि खुवाउनुपर्छ। यतिको रुपियाँ म कहाँबाट पाउँछु। योबाहेक जानेका नै छौ त्यो मोरालाई सिद्धयाएका उत्सवमा उतातिरको सरकार देशभरी एक दिन पक्का जुवा फुकाउने छ त्यो त जानेको कुरा हो। यही साताभित्र। त्यो बेला कोसँग रूपियाँ माग्न जाने?”

न आत्तिईकन पाइला सार्दै, एक एक पाइला गनेर सारेझैँ गर्दै, ऊ नेपालभित्र पस्यो।

योभन्दाअघि पनि मानिसले यहाँ दश गज नापेका थिए। अमृत सिकदारले जञ्जीरले नापेका थिए। एक छिनअघि नेपाल औ भारत सरकारका दुई जना नोकरले दुई ओटा गोलीले पक्का दश गज नापेका थिए। सूर्य शमशेरले आफ्नो शरीर दिएर आफ्ना हातको केवल साढे तीन गज नापे। दश गजको अझ धेरै बाँकी छ, त्यो नाप्न अझ उनीहरूलाई केही समय लाग्नेछ।

जय पशुपतिनाथ!