झापा। झापाको दमकमा २४ भदौमा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी लुटिएका हतियार बरामद गरेको छ।
पाँचथर मिक्लाजुङ गाउँपालिका ३‚ आरुबोटे लामागाउँका २२ वर्षीय सुशील फियाक (लिम्बू) लाई हिजो (मंगलबार) दिउँसो दमक नगरपालिका ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछमा उनले दमकबाट लुटिएका हतियार आफ्नै गाउँस्थित ओडारमा लुकाएको स्वीकार गरेको प्रहरीको भनाइ छ।
फियाकको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईको कमान्डमा गएको टोलीले ओडारबाट हतियार बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सो दिनको घटनामा संलग्न व्यक्तिहरूमाथि आपराधिक उपद्रव तथा हातहतियार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा सोही दिनको भिडियोमा साइकलमा प्रहरीको हतियार बोकेर हिँडिरहेका व्यक्तिको पहिचानपछि खोजतलास गरिएको थियो।
प्रहरीले फियाकले लुकाएको म्याग्जिनसहितको थ्रीनटथ्री राइफल एकथान, म्याग्जिनरहित र जलेको इन्सास राइफल एक थान, एसएलआर राइफलको गोली तीन थान र इन्सासको गोली एक थान बरामद गरेको छ।
प्रहरीले बरामद हतियार कार्यालयमा ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। फियाकलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको लम्सालले बताए।