२३ जेष्ठ २०८३
अ+
अ-

कैलाली। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्।

धनगढीमा शनिबार आयोजित ‘स्थानीय सरकार- अनुभव र उपलब्धि’ विषयक कार्यक्रममा उनले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए।

उनले भने, “यो प्रदेश जलस्रोत, वन-जंगल र सौन्दर्यको हिसाबले देशभरमै अग्रस्थानमा छ। सबै मिलेर काम गरेमा सिंगो देशले यहाँबाट लाभ लिनसक्छ। त्यसैले प्रदेश र स्थानीय सरकारकाले अरू सबैलाई साथमा लिएर काम गर्नुपर्छ।”

उनले संविधानले नै तीन तहका सरकारले गर्ने काम प्रस्ट रूपमा छुट्याएको उल्लेख गर्दै सोहीअनुसार आफ्नो जिम्मेवारीमा रहेका काम गर्नुपर्नेमा जोड दिए। “स्थानीय, प्रदेश र संघीय सरकारले गर्ने कामबारे प्रस्ट व्यवस्था छ। त्यसको मर्मलाई आत्मसात् गर्दै जिम्मेवारी पूरा गरे संघीयता सफल पार्न सकिन्छ। त्यसैले विकासका लागि हातेमालो गरौँ‚” उनले भने।

‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित कार्यक्रममा सुदूरपश्चिमका ३० स्थानीय तहका असल अभ्यासबारे जानकारी प्रस्तुत गरिएको थियो। सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेशका स्थानीय तह र युनिसेफको सहकार्यमा कार्यक्रम गरिएको हो।