काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

दृष्टिकोण

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने नेपाली प्रस्तावलाई छिटो र प्रभावकारी हिसाबले टुंग्याउने हो भने ‘सीमापार साझा सम्पदा’ बलियो विकल्प हुनसक्छ।

४ मंसिर २०८२
कपिलवस्तुको प्राचीन संरचना नियालिरहेका पर्यटक। तस्बिर : बसन्त महर्जन
अ+
अ-

बुद्धकालीन तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने नेपालको प्रयास सफल भएन। गत जुलाईमा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को बैठकमा नेपालले यस्तो प्रस्ताव राखेको थियो। नेपालको प्रस्तावलाई युनेस्कोको द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स (आइकोमस) अहिलेका लागि ‘स्थगन’ गर्ने निर्णय गर्‍यो।

आफ्नो प्रस्ताव अस्वीकृत भएपछि नेपालमा निराशा छाउनु स्वाभाविक नै हो। आइकोमससँग गुनासो पनि छ। थोरै रोष छिमेकी राष्ट्र भारतसँग गरेको पनि सुनिएको छ। तर, हामीले यतिबेला ध्यान दिनुपर्ने चाहिँ आफ्नै प्रस्तावबारे पुनर्विचार हो। यो किन पनि आवश्यक छ भने यस्तो प्रस्ताव फेरि फेरि राख्ने अवसर नेपाललाई छ। के बिर्सनु हुँदैन भने, यसअघि लुम्बिनी पनि पटक पटक स्थगन हुँदै विश्वसम्पदा सूचीमा पर्न सफल भएको हो।

नेपालका विश्वसम्पदा

नेपालबाट हालसम्म युनेस्को विश्वसम्पदा सूचीमा सांस्कृतिक क्षेत्रतर्फ काठमाडौँ उपत्यका र बुद्ध जन्मस्थल लुम्बिनी अनि प्राकृतिक क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज समाविष्ट छन्।

आइकोमसले तिलौराकोटलाई विश्वसम्पदाका रूपमा पूर्णतः अस्वीकार गरेको छैन, बरु केही प्राविधिक अनि केही संरचनात्मक प्रश्न र चिन्ता उठाएको छ।

लुम्बिनीजस्तै तिलौराकोटको पनि बहुआयामिक ऐतिहासिक तथा सांस्कृतिक महत्त्व छ। लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो भने तिलौराकोट गृहनगर। तिलौराकोट प्राचीन कपिलवस्तु गणराज्यको राजधानी क्षेत्र हो। यसको चिनारी दिँदा गौतम बुद्धले २९ वर्ष गृहस्थ जीवन बिताएको ठाउँ मात्रै भनिनु पर्याप्त होइन। यस क्षेत्रमा बुद्धको आगमन बरोबर भइराख्नु, बौद्ध धर्मको अभ्यास हुनु, अनेक बौद्ध सम्पदा पाइने कुराले पनि अधिक महत्त्व राख्दछन्।

बौद्ध साहित्यले गौतम बुद्धको जीवनी बताउने क्रममा उनीअघिका दुई बुद्धको जन्मस्थल पनि कपिलवस्तु नै रहेको संकेत गर्दछ। कनकमुनि बुद्धको जन्मस्थल हालको गोटिहवा र क्रकुच्छन्द बुद्धको जन्मस्थल निग्लिहवा रहेको मानिन्छ। यी दुवै ठाउँमा सम्राट् अशोकले इसापूर्व २४९ मा पुगेर अभिलेखसहित अशोक स्तम्भ खडा गरेका थिए। यसको वर्णन चिनियाँ यात्रीद्वय फाहियान (पाँचौँ शताब्दी) र ह्वेनसाङ (सातौँ शताब्दी)ले उल्लेख गरेका छन्। यिनै यात्रीद्वयकै यात्रा विवरणका आधारमा यी ठाउँहरूको खोजी भएको हो।

बौद्ध साहित्यले कपिलवस्तुको तत्कालीन दृश्य चित्रण गर्दा सुदूर अतीतको प्रशस्त झाँकी पाइन्छ। गौतम बुद्धको जन्म इपू छैटौँ शताब्दीमा भएको थियो भने हालैको पुरातात्त्विक उत्खननले त्यहाँ इसापूर्व आठौँ शताब्दीअघिदेखिकै मानवीय गतिविधि देखाएको छ। यी सबै तथ्यका आधारमा तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुनैपर्ने स्थान हो भनिनु अन्यथा हुँदै होइन।

आइकोमसको सुझाव र नेपाली अडान

विचारणीय पक्ष के छ भने, आइकोमसले तिलौराकोटलाई विश्वसम्पदाका रूपमा पूर्णतः अस्वीकार गरेको छैन, बरु केही प्राविधिक अनि केही संरचनात्मक प्रश्न र चिन्ता उठाएको छ। आइकोमसको प्राविधिक समीक्षाअनुसार उत्खननका क्रममा प्राप्त नयाँ साइटलाई प्रस्तावमा समावेश गरिएको थिएन। भविष्यमा पुनः प्रस्ताव पेस गर्दा यो कमजोरी हटाउन सकिन्छ।

दुवै देशले आफ्नो भूक्षेत्र मात्रै प्राचीन कपिलवस्तु भनेर दाबी गर्नु ‘कोरा राष्ट्रवाद’ मात्र हो। यस्तो राष्ट्रवादको भ्रमबाट नेपाल र भारतका सबै तह र तप्का बाहिर निस्कनैपर्छ।

आइकोमसले लुम्बिनीसँगै तिलौराकोटलाई पनि समावेश गरी संयुक्त नामांकन गर्ने सुझाव दिएको थियो। यो प्रस्ताव अस्वीकार गर्नु नेपाली टोलीको अत्यन्तै महत्त्वपूर्ण र दुरदृष्टियुक्त निर्णय हो। यो सम्भवतः काठमाडौँ उपत्यकाबाट प्राप्त कटु अनुभवले दिएको पाठ हुनुपर्छ। खासमा काठमाडौँ उपत्यकाका सात वटा सम्पदा क्षेत्रहरू हनुमानढोका दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भू चैत्य, पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर र बौद्ध चैत्यले बेग्लाबेग्लै सम्पदा क्षेत्रका रूपमा समावेश हुने क्षमता राख्छन्। तर, यी सबै एउटै सम्पदाका रूपमा सूचीकृत हुँदा तीमध्ये कुनै एक साइटको कमजोरीलाई देखाएर पूरै काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राख्ने चेतावनी आउने हुनाले लुम्बिनी र कपिलवस्तुलाई अलग अलग सम्पदाको हैसियत दिइनु नितान्त जरुरी छ।

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न नसक्नुको अर्को कारण कूटनीतिक कमजोरी देखिन्छ। यसमा पनि विशेषगरी भारतलाई दोषभागी बनाएको देखिन्छ। प्राचीन कपिलवस्तुको क्षेत्रका रूपमा भारतले पिप्रहवा र गनवरिया देखाउनु अनि नेपालले त्यसलाई अस्वीकार गर्नु दशकौँदेखिकै द्वन्द्व हो।

भारतमा रहेको पिप्रहवामा भिक्षुहरू। तस्बिर : बसन्त महर्जन

सन् १८९५ मा पुरातत्त्वविद् ए. फुहररले निग्लिहवामा अशोक स्तम्भ फेला पारेका थिए र त्यसैको आधारमा अर्को वर्ष उनी लुम्बिनी भेट्टाउन सफल भए। निग्लिहवाको प्राप्ति भन्नु नै कपिलवस्तुको ‘डिस्कभरी’ हो। लुम्बिनीपछि निग्लिहवालगायत विभिन्न ठाउँमा पुरातात्त्विक उत्खनन कार्य हुँदै गर्दा केही दुरीमा रहेको भारतीय भूमिमा पनि उत्खनन भइरहेको थियो। तर, विस्तृत उत्खनन तथा अध्ययन कार्य दुवैतर्फ हुन सकेको थिएन। भारतीय पुरातत्त्वविद् देवला मित्रले नेपालको कपिलवस्तुमा गरेको उत्खनन अपुरो र अधुरो थियो, तर उनैको रिपोर्टका आधारमा विवाद सिर्जना हुनु र विचार निर्माण गरिनु दुर्भाग्यपूर्ण थियो। मित्रको उत्खनन कुषाणकालभन्दा अगाडि जानै सकेको थिएन।

ठीक त्यही बेला केएम श्रीवास्तवले उत्तर प्रदेशको सिद्धार्थनगरनजिक पहिले गनवरिया र पछि पिप्रहवामा उत्खनन गरे। गनवरियामा बौद्ध विहारको संरचना मात्र पाइयो भने पिप्रहवामा विहार तथा स्तूपको ठूलो क्षेत्र पाइयो। त्यति मात्र नभई ‘कपिलवस्तु’ नाम अंकित तीन वटा शील पनि प्राप्त भयो। यसपछि उत्साहित उनले कपिलवस्तु नेपालमा नभएर भारतको पिप्रहवा तथा गनवरिया क्षेत्रमा रहेको घोषणा गरे। तर, देवला मित्रहरूको समय र अहिले बौद्ध अध्ययन-अनुसन्धान धेरै अघि बढिसकेको छ। तिलौराकोटमा सन् २०१३ देखि प्रत्येक वर्षजसो उत्खनन तथा सर्वेक्षेण हुँदै आएको छ। बौद्ध साहित्य तथा ऐतिहासिक वर्णनअनुसार थुप्रै तथ्य प्राप्त भइसकेका छन्, जसका आधारमा कतिपय पुराना दाबी र विचार खारेज हुन्छन्।

प्राचीन कपिलवस्तुको राजधानी नेपालले भनेजस्तो तिलौराकोट वरिपरि मात्रै सीमित छैन। भारतले भनेजस्तो गनवरिया र पिप्रहवा क्षेत्र मात्रै पनि होइन। तथ्य के हो भने, उहिलेको कपिलवस्तु अहिले नेपाल र भारतको राजनीतिक सीमारेखाले काटिएर दुवै देशमा परेका छन्। दुवै देशले आफ्नो भूक्षेत्र मात्रै प्राचीन कपिलवस्तु भनेर दाबी गर्नु ‘कोरा राष्ट्रवाद’ मात्र हो। यस्तो राष्ट्रवादको भ्रमबाट नेपाल र भारतका सबै तह र तप्का बाहिर निस्कनैपर्छ।

सीमापार साझा सम्पदा

जुलाईपछि आइकोमसको ६०औँ साधारणसभा तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन गएको ११–१८ अक्टोबरमा नेपालकै लुम्बिनीमा भयो। नेपालले सम्मेलनमा सहभागीहरूबीच तिलौराकोट नै प्राचीन शाक्य राजधानी भएको विश्वास दिलाउने, भ्रम हटाउने र विश्वसम्पदा सूचीमा समावेश गराउन मेहनत गरेको पनि देखियो। सम्मेलनमा ६७ देशका २२२ विदेशी प्रतिनिधि तथा सयौँ नेपाली सहभागी थिए।

खासै ऐतिहासिकता नदेखाउने तिलौराकोट नामप्रति नेपाल सरकार किन अनुरक्त छ भन्ने हो। किनकि, तिलौराकोट एउटैले प्राचीन कपिलवस्तुलाई समेट्दैन।

सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हर्क्याल लामाले पेरिसमा आइकोमसका अधिकारीहरूले ‘भारतलाई बुझाउनुस्, तिलौराकोटलाई राम्ररी व्याख्या गर्नुस्, अझ राम्रो व्यवहार गर्नुस्’ भनेकामा असन्तुष्टि प्रकट गर्दै भनेका थिए, ‘यस्तो हुने भए हामीलाई किन युनेस्को चाहियो? आइकोमस किन चाहियो? उनको तीखो टिप्पणीले आइकोमस अधिकारीहरूलाई केही नमीठो लागे पनि तिलौराकोट निर्णयमा भने प्रभाव पार्ने देखिँदैन।

कपिलवस्तुमा रहेको बुद्धकालीन संरचना। तस्बिर : बसन्त महर्जन

आइकोमसका अधिकारीले पेरिसमा ‘भारतलाई बुझाउनुस्’ भनेका हुन् भने यसको तात्पर्य कपिलवस्तुलाई विश्वसम्पदामा राख्न नेपाल र भारत दुवैले संयुक्त पहल गरून् भन्ने हुनसक्छ। भारत युनेस्कोको प्रभावशाली सदस्य भएकाले स्वाभाविक रूपमा मतदानमा उसको प्रभाव धेरै हुन्छ। पेरिसमा कुनै पनि राष्ट्रले नेपालको प्रस्तावमा छलफल नचलाउनुका पछाडि भारतको कूटनीतिक पहल पनि हुनसक्छ। एउटा प्राचीन ऐतिहासिक भूभाग नेपाल र भारतमा पर्नु तर नेपाली भूभागलाई मात्र विश्वसम्पदा सूचीमा परेको टुलुटुलु हेरेर बस्नु भारतलाई सह्य नभएको पनि हुनसक्छ।

त्यसो भए के गर्ने त? नेपालले भारतसँग मिलेर दुवैतर्फका साइटहरू समेटेर संयुक्त ‘सीमापार विश्वसम्पदा’ (ट्रान्सबाउन्ड्री) को प्रस्ताव अघि सार्नु नै उचित विकल्प हुने देखिन्छ। यसले साझा सम्पदाप्रतिको साझा सम्मान मात्र होइन, दुई देशबीचको सम्बन्ध पनि थप सौहार्द बनाउन मद्दत गर्छ। ऐतिहासिक र सांस्कृतिक अध्येताहरूलाई पनि पूरै भूगोल अध्ययनमार्फत थप तथ्य पत्ता लगाउन सहयोग गर्नुपर्छ। यस्तो अभ्यास नेदरल्यान्ड्स, जर्मनी र डेनमार्कबीच वडेन सागर, जिम्बावे–जाम्बियाको भिक्टोरिया झरनालाई लिएर भइसकेको छ।

अर्को अचम्म चाहिँ, खासै ऐतिहासिकता नदेखाउने तिलौराकोट नामप्रति नेपाल सरकार किन अनुरक्त छ भन्ने हो। किनकि, तिलौराकोट एउटैले प्राचीन कपिलवस्तुलाई समेट्दैन। हामीकहाँ तिलौराकोटबाहेक प्राचीन कपिलवस्तुका थुप्रै महत्त्वपूर्ण ठाउँ छन्। गनवरिया र पिप्रहवालाई पनि छुटाउन मिल्दैन। त्यसैले किन अब गरिने प्रस्तावमा तिलौराकोटको साटो कपिलवस्तु नभन्ने? बेलैमा विचार पुर्‍याउनुपर्ने देखिन्छ।