एनपीएल
पोखराको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा विराटनगर किङ्ग्ससँग ५३ रनले पराजित भएको थियो।
काठमाडौं। जोश ब्राउनको अर्धशतकसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८ विकेट गुमाउँदै १७५ रन मात्रै बनाउन सक्यो।
योसँगै सुदूरपश्चिम दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पाखा लगाएको थियो। पोखराको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा विराटनगर किङ्ग्ससँग ५३ रनले पराजित भएको थियो।
पोखराका कुशल भुर्तेलले सर्वाधिक ५३ रन बनाए। ३२ बल खेलेका उनले समान ४ चौका र छक्का प्रहार गरे। जिम्मी निसमले २५ बलमा २ चौका र ५ छक्कासहित ४७ रन बनाए।
डान डाउथवेटले ३७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमका हर्मित सिंहले सर्वाधिक २ विकेट लिए। हेमन्त धामी, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, नरेन साउद र स्कट कुगेलेइनले समान १-१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।

सुदूरपश्चिमका जोशले सर्वाधिक ६८ रन बनाए। ३५ बल खेलेका ओपनरले ६ चौका र ५ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले विनोद भण्डारीसँग १०८ रनको विशाल साझेदारी गरे।
विनोदले ४२ बलमा ६ चौकासहित ४३ रन बनाए। क्रिस लिन ३१ र कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट हुँदा अन्यको प्रदर्शन निराशाजनक रह्यो।
पोखराका जिम्मीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४७ रन दिए। आकाश चन्द र विपिन खत्रीको नाममा समान २ विकेट रह्यो।