काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन्।
सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए।

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताइन्। जेन-जी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्न रहन पनि उनले बताइन्।
कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिन आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि सुझाव दिइन्।