काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन्। राजधानीमा आइतबार आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उनले विश्वसँग जोडिएर जान जेन-जीले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै उनले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताए। पार्टीका अगुवा नेता रहेका भट्टराईले नयाँ दलमा आफू अभिभावक भएर बस्ने र कार्यकारी भूमिकामा रहनेलाई सहयोग तथा सुझाव दिने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री राम कार्कीले चुनाव हुँदा वा नहुँदा पनि नवगठित पार्टीको अभियान चलिरहने बताए। शिक्षा, यातायात, कृषिलगायत सबै नीतिलाई नयाँ दलले परिवर्तन गर्न चाहेको पनि उनले सुनाए। नेता कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न जेन-जीलाई सुझाव दिए। उनले मार्क्सिज्म भनेको आफैँप्रति आलोचक हुनु हो भन्दै उनले यस्तो गुण नहुनेहरू मार्क्सवादी हुन नसक्ने जिकिर गरे।

कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र वाचन गरेका थिए। प्रतिबद्धतापत्रमा देशको कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गरिने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाइने, बोली र व्यवहारमा एकरुपता हुनेलगायत विषय समेटिएको छ।

पूर्वमन्त्री सुदन किरातीले आफ्नो दलले कम्युनिस्ट पार्टीको खोल छाडेर गुदी बोकेर आएको बताए। देशमा रहेका समग्र जनताको तस्बिर अब आफ्नो दलमा पाइने उनको भनाइ थियो। पार्टी घोषणा सभाको अध्यक्षता गरेका नेता सन्तोष परियारले दलले नयाँ गतिका साथ काम गर्न चाहनेलाई समेटेर अघि बढ्ने बताए।