काठमाडौँ। सर्वोच्च अदालतमा तोडफोड र आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वोच्च तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गत २४ भदौमा सर्वोच्चको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।