८ मंसिर २०८२
अ+
अ-

सिरहा। प्रहरीले सिरहामा मालवाहक ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। लहान नगरपालिका १ स्थित पूर्व-पश्चिम राजमार्गस्थित सडकखण्डमा आइतबार राति साढे ११ बजे प्रहरीले मालवाहक ट्रकबाट गाँजा बरामद गरेको हो।

चेकजाँचका क्रममा ना.६ख ३२०९ नम्बरको ट्रकबाट एक हजार ५५ किलो गाँजा बरामद भएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ट्रकको अगाडि र पछाडि फलामको बक्सभित्र प्लास्टिकले बेरेर राखिएको अवस्थामा ११२ वटा बोरामा प्याक गरिएको गाँजा फेला पारेको पालले बताए।

उक्त ट्रक मिर्चैयाबाट रुपनीतर्फ गइरहेको थियो। धर्मदेवी नगरपालिका ९‚ संखुवासभाका २४ वर्षीय चालक टंक विश्वकर्मा र सह-चालक धनकुटा छथर जोरपाटी गाउँपालिका २ का २२ वर्षीय खेम रानामगरलाई प्रहरीले पक्राउ गरेको हो। गाँजा सीमावर्ती क्षेत्र हुँदै भारत निकासी गर्ने तयारीमा रहेको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। बरामद गाँजा र पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ।