काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताएका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई आज (सोमबार) सम्बोधन गर्दै उनले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले २७ मंसिरबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताए। “महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित रहेर हुनेछन्‚” उनले भने।
महासचिव पोखरेलका अनुसार पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू महाधिवेशनमै अन्तिम रूप पाइसकेका छन्। उनले पार्टीको ११औँ महाधिवेशनले प्रतिगमनविरुद्ध निर्णायक भूमिका खेल्ने बताए। “यो महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुनेछ‚” उनले भने।
महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने दाबी पनि गरे। त्यसका लागि तलसम्म लाग्न पोखरेलले आग्रह गरे।
उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनर्निर्माणजस्ता मूल राजनीतिक सवाललाई एजेन्डामा केन्द्रित गर्ने दाबी गरे। उनले युवापुस्ता, विशेषतः जेन-जेडमैत्री संरचना निर्माणमा महाधिवेशनमा जोड दिइने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताए।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा बागमती प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताए। प्रदेश सङ्गठनलाई सुदृढ बनाउने र राजनीतिक अभियान प्रभावकारी बनाउने उद्देश्यसहित बागमतीलाई केन्द्रविन्दु बनाइएको उनले बताए।