काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील)अन्तर्गत आज (मंगलबार) को खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ।
लुम्बिनीको यो लगातर दोस्रो हार हो। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमामा काठमाडौँ गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १३५ रनमै समेटियो।
लुम्बिनीका लागि दिलीप नाथले २५ रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै डी आर्सी सर्टले २२ रन बनाए। शेर मल्लले १८ बलमा ३ छक्काको सहयोगमा २७ रन प्रहार गर्दै रनआउट भए।
कप्तान रोहितकुमार पौडेल र गुलबदिन नाबिले समान ११, ओपनर सन्दीप जोराले ७ रन बनाए।
काठमाडौँका लागि मिलिन्द्र कुमार, गेरहार्ड इरास्मसले विकेट लिए। साहब आलम, कप्तान करण केसी, सन्तोष यादव र रासिद खानले समान एक विकेट हात परे।
योसँगै ४ खेल खेलेको काठमाडौँले दोस्रो जित दर्ता गरेको छ। तीन खेलबाट लुम्बिनीले दोस्रो हार बेहोरेको छ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।
यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे। लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए।
क्यानको आयोजनामा १ मंसिरदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।