काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ मंसिर २०८२
अ+
अ-

दाङ। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरु स्वयंले भोगिरहेको बताएका छन्।

दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभामा उनले सुशासनका लागि काम गर्दा नियोजित रुपमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस-एमाले मिलेको बताए। केपी ओली नेतृत्वको कांग्रेस-एमाले सरकारका गलत कामविरुद्ध आफूहरुले संसद् र सडकबाट निरन्तर खबरदारी गर्दा पनि नसुनेको भन्दै पुनले सरकारको कुशासनका कारण जेन-जी आन्दोलन भएको उनको भनाइ थियो।

आफूहरुले त्यतिबेला जनतामा असन्तुष्टि चुलिएको र कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्नेबारे सचेत गराउँदा पनि कांग्रेस र एमाले नेतृत्वले सुन्न नचाहेको पुनले स्मरण गरे। तर, जनताको असन्तुष्टिको नेतृत्व गर्न भने आफूहरु चुकेको उनले स्विकारे। “सरकारमा बसेर हामीले सुशासनका लागि काम गर्न कोसिस गर्यौं। नियोजित रुपमा सरकार ढालियो। कांग्रेस र एमालेका नेताहरुले यस्तै प्रकारको शासन सञ्चालन गरिराख्ने हो भने। जनतालाई जसरी हेपिराखिएको छ। जनताको असन्तुष्टिलाई आत्मसात् गरिएको छैन। यो अवस्थामा कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्छ भनिराखेका थियौं। आखिर त्यस्तै भयो‚” उनले भने‚ “यहीँनेर हाम्रो कमजोरी के भनेर पनि व्याख्या गर्‍यौं‚ विश्लेषण गर्‍यौं तर जनताको त्यो असन्तुष्टिलाई नेतृत्व गर्न सकेनौं।”

पुनले जेन-जी पुस्ताले उठाएको सुशासनको एजेन्डाहरुको सम्बोधन तथा लोकतान्त्रिक गणतन्त्र सुदृढ गरेर समाजवादसम्म पुग्ने उद्देश्यका साथ डेढ दर्जन कम्युनिस्ट घटकबीच एकता गरिएको उल्लेख गरे। जेन-जी आन्दोलनबाट आफूहरुले युवालाई पार्टी र राज्यका निकायको नेतृत्वमा ल्याउने शिक्षा प्राप्त गरेकाले सोहीअनुसार अघि बढ्न खोजिएको पनि उनले बताए।

विगतमा भएको कम्युनिस्ट एकता एमाले अध्यक्ष ओलीको निरंकुश र व्यक्तिवादी प्रवृत्तिका कारण टिक्न नसकेको भन्दै उनले त्यतिबेलाको शिक्षाबाट सिकेर अघि बढ्ने बताए। कम्युनिस्ट पार्टीले इतिहासमा पहिलोपटक पाएको बहुमत जोगाउन नसक्दा मुलुकमा लोकप्रियतावादी शक्तिहरुको उदय भएको पुनको भनाइ थियो। “मूल नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति, गैरकम्युनिस्ट प्रवृत्तिका कारणले हामीले दुईतिहाइभन्दा बढीको जनमत, संघीय सरकार, सबैतिरको प्रदेश सरकार हुँदाहुँदै पनि त्यो परीक्षामा हामी पास हुन सकेनौं‚” पुनले भने‚ “कम्युनिस्टहरुले पहिलोपटक प्राप्त गरेको बहुमत हामीले सफलतापूर्वक सञ्चालन गर्न नसक्दा विभिन्न प्रकारका लोकप्रियतावादी आन्दोलन र प्रवृत्ति देखा परे। आज जेन-जी आन्दोलनसम्म हुँदा फेरि हामीले नयाँ ऐतिहासिक प्रतिबद्धता गर्नुपर्ने दायित्व आयो।”

पुनले एकतामा सामेल नभएर फरकफरक समूह बनाएका घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्दलाई पनि नेपाली कम्युनिस्ट पार्टीको झन्डामुनि गोलबन्द हुन अपिल गरे। भुसाल‚ शर्मा र चन्दलाई ढिलोछिटो कम्युनिस्ट आन्दोलनको मुल प्रवाहमा सामेल नभई सुखै नहुने बताए।