काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

दृष्टिकोण

बालविवाह हिंसाको कारण र परिणाम दुवै भएकाले यो स्वतः बौद्ध धर्मदर्शनविरुद्ध छ।

१५ मंसिर २०८२
अ+
अ-

केही समयअघि बालविवाह रोकथामबारे आयोजित एउटा कार्यक्रममा बोल्नका लागि आग्रह आयो। बौद्ध धर्मदर्शनबारे बोल्ने-लेख्ने गरेकाले यही हैसियतमा आफूलाई बोलाइएकामा जानकार थिएँ, तर गएर के बोल्ने? म हच्किएँ। किनकि, अहिलेको हिसाबमा भन्ने हो गौतम बुद्ध स्वयंको पनि बालविवाह भएको थियो। १६ वर्षमै उनको विवाह भएको थियो।

तैपनि, बोल्नका लागि सहमत भएँ। मलाई लाग्यो, बौद्ध दर्शनअनुसार बालविवाहविरुद्ध मत राख्नु आवश्यक छ। बालविवाह नियन्त्रणमा कतिपय धार्मिक, सांस्कृतिक कट्टरता पनि महत्त्वपूर्ण कारण भएकाले पनि सबै तहतप्कामा सन्देश जान जरुरी छ।

२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार देशमा अहिले १८ वर्षमुनिका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ छ। कानुनले नेपालमा बालबालिका भन्नाले १८ वर्ष उमेरभित्रको भने पनि विवाहका लागि २० वर्षको हुनैपर्ने प्रावधान राखेको छ। २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने तथा यस्तो कसुरमा तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना तोकिएको छ। यसले बालविवाहका घटनामा कमी आए पनि अपेक्षाकृत प्रगति भने हुनसकेको छैन। पछिल्लो जनगणनाले नेपालमा १.६ प्रतिशत बालिबालिकाले कानुनी उमेर नपुगी विवाह गरेको देखिन्छ।

समाजमा बालविवाहको कारणमा गरिबी, दाइजो कुप्रथा, धार्मिक-सामाजिक दबाब र शिक्षाको कमी आदिलाई मानिएको छ। तर, यसको जड बालिकालाई बोझ मान्ने पुरातन सोच हो। यसबाहेक विभिन्न अध्ययनबाट प्राकृतिक प्रकोप तथा वा संकटका बेला पनि बालविवाहको दर बढ्ने देखिएको छ।

बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्थालगायत सबै क्षेत्रमा असर पर्छ। शारीरिक र मानसिक हिसाबमा अपरिपक्व हुँदै गरिने विवाहले बालिका र सन्तानको स्वास्थ्यमा गम्भीर असर गर्नेसँगै भविष्यमा हिंसा, शोषण र अपराधका घटना पनि निम्त्याएका प्रशस्त उदाहरण छन्। बालापनको हत्या गर्ने बालविवाह बालबालिकाको मात्र होइन, मानवअधिकारको पनि उल्लंघन हो।

बौद्धहरू कुनै पनि प्रकारको हिंसाबाट विरक्त हुनुपर्छ। हिंसाबाट विरक्त नभई धर्म साधना गर्न सकिन्न भन्ने न्यूनतम मान्यता हो।

बौद्ध ग्रन्थहरूमा बालबालिकाको विवाहको उमेरबारे निर्क्योल गरिएको पाइँदैन। तर, उमेर पुगेपछि विवाह गरिदिएको प्रसंग भने पाइन्छ। गौतम बुद्ध र यशोधराको जन्म एकैदिन भएकाले यशोधराको उमेर पनि १६ वर्षकै थियो भनी मान्न सकिन्छ। श्रावस्तीका सेठ मृगारका छोरा पूर्णवर्धनसँग बुद्धकी प्रसिद्ध उपासिका विशाखाको विवाह हुँदा उनको उमेर पनि १६ वर्षकै भएको उल्लेख छ। यसकै आधारमा तत्कालीन समयमा विवाह गर्ने प्रचलित उमेर १६ वर्ष रहेछ भनेर मानिहाल्न त सकिन्न, तर त्यस समयका विभिन्न सामग्रीको अध्ययनबाट १६ वर्षभन्दा कम उमेरमा विवाह भएको पनि भेटिन्न। निष्कर्षमा पुग्न भने थप अध्ययन आवश्यक देखिन्छ।

बुद्धको उमेर ३७ पुगिसकेको बेला दिदी नन्दा र केही वर्षले मात्रै कान्छो भाइ नन्दको विवाह हुन लागेको थियो। तर, दुवै भिक्षु-भिक्षुणी हुनपुगे।

धर्मकै नाममा बालविवाहलाई प्रोत्साहन गरिएका हिन्दु ग्रन्थहरू पाइए पनि ती बुद्धकालभन्दा पछिका हुन्। यसरी हेर्ने हो भने हिन्दु समाजमा पनि बालविवाहको प्रचलन सुरुदेखि थिएन भन्ने थाहा हुन्छ। सात वर्षभित्रै छोरीको विवाह गराइसक्नुपर्छ भन्ने तर्कलाई जोड दिइएका हिन्दु ग्रन्थहरू मध्यकालतिर मात्रै रचना गरिएका हुन्।

भिक्षु-भिक्षुणीको दायित्व

बौद्ध धर्ममा भिक्षु-भिक्षुणीले विवाह गर्न पाउँदैनन्। कम्तीमा २० वर्ष उमेर पुगेकालाई मात्र भिक्षु वा भिक्षुणीको उपसम्पदा दिइन्छ। उपसम्पदा भन्नु पूर्णरूपमा भिक्षुको हैसियत पाउनु हो। त्यसअघि भिक्षु-भिक्षुणी तालिम अवधिका रूपमा श्रामणेर र श्रामणेरीको व्यवस्था गरिएको हुन्छ। उनीहरूका सम्बन्धमा पनि विवाहको प्रसंग आउँदैन। गृहस्थ जीवन बिताउनेका सन्दर्भमा छोरा होस् वा छोरी, दुवैको उचित पालनपोषण र शिक्षादीक्षाको प्रबन्धमा जोड दिएको पाइन्छ।

बौद्धहरू कुनै पनि प्रकारको हिंसाबाट विरक्त हुनुपर्छ। हिंसाबाट विरक्त नभई धर्म साधना गर्न सकिन्न भन्ने न्यूनतम मान्यता हो।

बालविवाहका खराब पक्षबारे प्रचारप्रसार गर्ने सशक्त माध्यम भिक्षु-भिक्षुणी पनि हुनसक्छन्।

कम उमेरमा हुने विवाहका कारण आमा-बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जान्दाजान्दै त्यसको बेवास्ता गर्नु सोझै हिंसामा सहभागी हुनु हो। हिंसा गर्नु वा हिंसा कार्यमा सहभागी हुनुलाई बौद्ध धर्मले पापकै रूपमा लिने गरेको छ। कम उमेरमा हुने विवाहले हिंसालाई प्रश्रय दिने हुनाले बालविवाह स्वतः हिंसा हो। त्यसैले पनि बौद्ध धर्मले बालविवाह अस्वीकार गर्छ भनिनु उचित ठहर्छ।

बौद्ध धर्मले करुणामा जोड दिन्छ। शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहने अभ्यास बताउँछ। यो भनेको कसैको हानि नहोस्, भलो होस् भनेर कामना मात्रै गर्नु नभई त्यसका लागि योगदान पुर्‍याउनु पनि हो। बालविवाहले हानि गर्ने भनिसकेपछि कुनै पनि कुतर्कले बालविवाहलाई प्रश्रय दिनु स्वयं पापको भागीदार हुनु हो। चोरी, हत्यालगायत अपराधबाट विरक्त भएजस्तै बालविवाहबाट पनि विरक्त हुनैपर्छ।

बालविवाहको पापबाट समाजलाई मुक्त गराउने दायित्व राज्यका निकायको मात्र होइन, बौद्ध धर्मगुरु, भिक्षु-भिक्षुणीसँगै धर्मावलम्बीहरूको पनि हो। जनसाधारण भिक्षु-भिक्षुणी श्रद्धा र सम्मान व्यक्त गर्दछन्, सँगै उनीहरूले दिने ज्ञानगुन पनि पालना गर्न खोज्छन्। यस अर्थमा बालविवाहका खराब पक्षबारे प्रचारप्रसार गर्ने सशक्त माध्यम भिक्षु-भिक्षुणी पनि हुनसक्छन्।