काठमाडौँ। कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ।
आज पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै लिग चरणको कर्णाली एक खेल अगावै बाहिरिएको हो। कर्णालीका प्रशिक्षक राजु बस्न्यातले टिममा सन्तुलन नमिल्दा बाहिरिनुपरेको बताए। उनले भने, “सुरूको खेल हार्दादेखि नै टिमको बनोबल खस्किएको थियो, त्यसपछिका खेलहरूमा पनि सोचेअनुसार प्रदर्शन गर्न सकेनौँ।”
बलिङ, ब्याटिङ र फिल्डिङ सबै कुरामा चुक्दा यस्तो नतिजा आएको उनको भनाइ थियो । उनले भने, “कागजमा हेर्दा हाम्रो टिम बलियो नै थियो तर मैदान उत्रिदा फितलो प्रदर्शन भयो, जसका कारण बाहिरिन बाध्य भयौँ।”
कर्णालीमाथि जीत निकाल्दै पोखराले प्लेअफको सम्भावना जीवितै राखेको छ। पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्याएको छ। पोखराको जीतमा शतकीय पारी खेल्दै प्लेयर अफ म्याचसमेत भएका एडम रोसिङ्टनले प्लेअफ पुग्ने लक्ष्यका साथ अघि बढेका बताए। उनले भने, “प्लेअफ पुग्ने लक्ष्यका साथ खेल्दै छौँ, बाँकी रहेका खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेछ।”