काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सहाब आलमले ६ विकेट लिएँसगै काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डु अन्तिम चारमा पुगेको हो। काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो।

जितसँगै काठमान्डुले ७ खेलबाट १० अंक पुर्‍यायो। काठमान्डु प्लेअफमा पुग्ने दोस्रो टोली हो। सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। पोखराले भने प्लेअफमा पुग्ने मौका लगभग गुमाएको छ।

पोखराको ६ खेलबाट ४ अंक मात्र छ। पोखराका ऋषि धावनले सर्वाधिक ५४ रन बनाए। ३१ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

धनञ्जय लक्ष्मणले २७ बलमा १ चौका १ छक्कासहित ३० रनको योगदान दिए। कप्तान कुशल भुर्तेल २२ र जोसन रोय १६ रनमा आउट हुँदा अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

काठमान्डुका सहाब आलमले सर्वाधिक ६ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। करण केसी र सन्नी पटेलको नाममा समान २ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।

ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रन बनाए। यस्तै भीम सार्कीले विस्फोटक इनिङ्स खेल्दै मात्र २३ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५५ रन बनाए।

पोखरा एभेन्जर्सका कुशल भुर्तेल र धनञ्जयले समान २-२ विकेट लिए।