२० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

पोखराको जितमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए। प्रतियोगितामा पहिलोपटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे। उनले ५३ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरे।

यो पनि…

विदेशी ब्याटर र नेपाली बलरले धानेको एनपीएल

पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए। पोखराका धनन्जय लक्षनले ३ विकेट लिए।

लिग चरणको अन्तिम खेल आइतबार दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

र‚ यो पनि…

सुदूरपश्चिम ६ विकेटले पराजित‚ पहिलो क्वालिफायरमा विराटनगर