काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

एनपीएल क्वालिफायर्स

त्रिवि मैदानमा जारी एनपीएलको दोस्रो संस्करण जितेर सुदूरले इतिहास रच्ला कि विराटनगरले, लुम्बिनी र काठमान्डु पनि इतिहास रच्ने बाटोमा उत्तिकै सशक्त भएर उभिएका छन्।

२३ मंसिर २०८२
क्वालिफायर्समा छनोट भएका विराटनगर किङ्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सका कप्तानहरू क्रमशः सन्दीप लामिछाने, रोहित पौडेल, करण केसी र दीपेन्द्रसिंह ऐरी। तस्बिर : एनपीएल
अ+
अ-

कीर्तिपुरको त्रिवि मैदानमा जारी एनपीएल (नेपाल प्रिमियर लिग)को दोस्रो संस्करणबाट ‘डिफेन्डिङ च्याम्पियन’ जनकपुर बोल्ट्स बाहिरिइसकेको अवस्थामा यसपालि नयाँ विजेता उदाउने निश्चित छ।

यसै सन्दर्भमा क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै छन् भने इलिमिनेटरमा काठमान्डु गोर्खाजको भिडन्त लुम्बिनी लायन्सविरुद्ध हुँदै छ।

सुदूरपश्चिम एनपीएलको साबिक उपविजेता हो। अघिल्लो संस्करणको लिग चरणका सातमध्ये ६ खेल जितेर शीर्षस्थानसहित क्वालिफायरमा प्रवेश गरेको सुदूरपश्चिमले यसपालि पनि सोही इतिहास दोहोर्‍याएको छ। उसले अघिल्लो संस्करणमा चितवन राइनोजसँग ३३ रन र यस संस्करणमा विराटनगरसँग ६ विकेटको पराजय मात्र बेहोरेको हो।

सुदूरबाहेक अन्य तीन टोलीले पहिलोपल्ट क्वालिफायरको यात्रा तय गरेका हुन्। पहिलो संस्करणमा दुई खेलमा मात्र जित हात पारेको विराटनगर यसपालि सुधारिएको प्रदर्शनसहित सुदूरपश्चिमलाई ‘ब्याक टु ब्याक’ फाइनल प्रवेशबाट रोक्ने अभियानमा छ। यसपल्ट विराटनगरले पाँच खेलमा जित निकाल्दै क्वालिफायर १ को यात्रा सुनिश्चित गरेको थियो, त्यो पनि सुदूरको ६ खेलको अपराजित यात्रालाई ‘ब्रेक’ लगाउँदै।

पहिलो संस्करणमा नेट रनरेटका आधारमा कर्णाली याक्ससँग पछि पर्दै इलिमिनेटरमा पुग्न चुकेको काठमान्डुलाई यसपल्ट भाग्यले साथ दिएन। यस संस्करणमा पनि उसलाई नेट रनरेटमै विराटनगरले पछि पार्दा फाइनल पुग्न घुमाउरो बाटो समात्नुपरेको हो। अर्कातर्फ, लुम्बिनी भने काठमान्डुभन्दा भाग्यमानी साबित भयो। पछिल्ला तीन खेलमा लगातार जित हात पारेको लुम्बिनीले इलिमिनेटरमा काठमान्डुसँग लिग चरणमा बेहोरेको २२ रनको हारको बदला लिने मौका पाएको छ।

शान्त तर आक्रामक सुदूरपश्चिम

लिग चरणको सुरुआतमै सुदूरपश्चिमको हिँडाइ यस्तो थियो, जसले आफ्नो गन्तव्य पहिल्यै पछ्याइसकेको थियो। अघिल्लो संस्करणको फाइनल पुगेर जनकपुरसँग अन्तिम चार बल बाँकी रहँदा पाँच विकेटले पराजित भएको सुदूरपश्चिमले यसपल्ट अंकतालिकाको शीर्षस्थानमा आफूलाई पुनः उभ्याएको छ।

सुदूरपश्चिम रोयल्सको टोली। तस्बिर : एनपीएल

काठमान्डुलाई २९, पोखरा एभेन्जर्सलाई १८ र कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको दीपेन्द्रसिंह ऐरीको टिमले लुम्बिनी लायन्सलाई सात र जनकपुर बोल्ट्सलाई ६ विकेटले पाखा लगाएको थियो। अझ यस टोलीले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै खेलेका सबै ६ खेलमा जित निकाल्यो। यद्यपि, लिगको अन्तिम खेलमा विराटनगरसँग ६ विकेटले पराजित हुँदा सुदूरपश्चिमले आफ्नो अपराजित यात्रालाई कायम राख्न सकेन।

अन्तिम खेलमा हार बेहोर्नुपरे पनि सुदूरका खेलाडीहरूमा दबाब देखिएको छैन। “एक हारले केही असर गर्दैन। नयाँ प्रयोग गरेका थियौँ। राम्रो पुनरागमन गर्नेछौँ,” आरिफ शेख भन्छन्।

सुदूरपश्चिमका खेलाडीहरूमा यतिबेला शारीरिक मात्र होइन, मानसिक क्षमता पनि प्रबल देखिन्छ। अनुशासित ब्याटिङ, योजनाबद्ध बलिङ, डरलाग्दो र विपक्षीको रणनीति पढ्ने क्षमताले सुदूरपश्चिमलाई एनपीएलको दाबेदार टोली बनाएको छ। सुदूरपश्चिमको मुख्य हतियार ‘टप अर्डर’ हो। ओपनर विनोद भण्डारी र जस ब्राउन सानदार लयमा छन्।

यी दुई ब्याटरले पोखराविरुद्ध १०८ रनको साझेदारी गरेका थिए। काठमान्डुविरुद्धको खेलमा यी दुवै ब्याटर शून्य रनमै पेभिलियन फर्किए पनि अन्य खेलमा भने राम्रो सुरुआत दिलाएका छन्।

‘टीयू किङ’ भनेर चिनिने विनोद भण्डारी सर्वाधिक रनकर्ताको सूचीमा पाँचौँ स्थानमा छन्। सात इनिङ्समा उनले एक अर्धशतकसहित २०१ रन बनाइसकेका छन्। उनीबाहेक ‘अजी ब्याटर’ क्रिस लिनले पनि एक अर्धशतकसहित १४३ रन बनाएका छन्। ब्राउनको नाममा भने एक अर्धशतकसहित १०१ रन छ। यी दुई ब्याटर स्वदेश फर्किंदा सुदूरपश्चिमले दुईपल्ट कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका भारतीय विकेटकिपर ब्याटर शेल्डन ज्याक्सनसँगै पाकिस्तानी पूर्वब्याटर मुख्तर मनियालाई भित्र्याएको छ। यद्यपि, सुदूरपश्चिमका लागि आत्तिनुपर्ने अवस्था देखिँदैन।

आरिफ र कप्तान दीपेन्द्रसिंह ऐरीले मध्यक्रम धानिदिँदा हर्मित सिंहले ब्याटिङमा १०९ रन र बलिङमा १० विकेट लिएर बलियो साथ दिएका छन्। अझ ‘डेथ ओभर’ विशेषज्ञ अविनाश बोहराको लयले सुदूरपश्चिमलाई फाइनलमा स्थान बनाउन सहज तुल्याएको छ।

झट्का दिन तयार विराटनगर

दोस्रो संस्करणमा विराटनगरको कथा बिल्कुलै फरक छ। ब्याटिङमा बसिर अहमद र लोकेश बम तथा बलिङमा कप्तान सन्दीप लामिछानले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। यी खेलाडीहरू सुदूरपश्चिमझैँ स्थिर होइनन्, अस्थिर तर जति बेला पनि खेल परिवर्तन गर्ने सामर्थ्य राख्छन्।

विराटनगर किङ्सको टोली। तस्बिर : एनपीएल

लिगको अन्तिम खेलमा सुदूरपश्चिमजस्तो बलियो टिमलाई हराएर क्वालिफायर १ मा प्रवेश गर्नु नै विराटनगरको जुझारुपनको परिचय हो।

मध्यक्रमका बसिरले यसपल्ट एक अर्धशतकसहित १७६ रन बनाएका छन्। ओपनर लोकेश पनि पछाडि छैनन्। उनले पनि समान एक अर्धशतकसहित १६५ रन बनाउँदै विराटनगरलाई राम्रो सुरुआत दिलाएका छन्।

अझ दक्षिण अफ्रिकी ब्याटर फाप डु प्लेसिसजस्ता स्टार खेलाडीको आगमनले भने विराटनगरलाई क्वालिफायर एक अगाडि नै बलियो बनाइदिएको छ। पहिलो खेलमा नौ बलमा १२ रन मात्र बनाएका फाप त्रिविको पिचमा अभ्यस्त बनिसकेका छन्। उनले सुदूरपश्चिमविरुद्ध ११.५ ओभरमै जित दिलाउन २० बलमै पाँच चौका र चार छक्कासहित ५० रनको योगदान दिनुले पनि यो माहोलमा ढलिसकेको स्पष्ट हुन्छ।

“साम, फाप, लोकेश र बसिरजस्ता ब्याटर राम्रो लयमा छन्। आत्तिनुपर्ने अवस्था छैन। यही अवस्थालाई अगाडि लैजानुपर्छ,” विराटनगरका कप्तान सन्दीप भन्छन्। उनले भनेजस्तै क्वालिफायरमा टोलीले यही लयलाई निरन्तरता दियो भने जुनसुकै टोलीलाई निराश बनाउन सक्छ।

अस्थिर तर सम्भावनाले भरिएको काठमान्डु

इलिमिनेटरमा प्रवेश गरे पनि काठमान्डु गोर्खाजको यात्रा त्यति सहज रहेन। कहिले चम्किने, कहिले निराशाजनक नतिजा हात पार्ने यो टोली निरन्तर परिवर्तनशील देखिन्छ। यही कारण यो टोली इलिमिनेटरमा खतरा बन्नसक्छ।

काठमान्डुले पहिलो खेलमै साबिक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै सानदार सुरुआत गरेको थियो। तर, दोस्रो र तेस्रो खेलमा ब्याटिङमा एकरूप प्रदर्शन गर्न नसक्दा लगातार हार खेप्नुपर्‍यो।

काठमाडौँ गोर्खाजको टोली। तस्बिर : एनपीएल

सुदूरपश्चिमले दिएको १४८ रनको सामान्य लक्ष्य काठमान्डुले पछ्याउन सकेको थिएन। त्यसैले उसले २९ रनको हार बेहोर्न पर्‍यो। लगत्तै ब्याटिङ चल्न नसक्दा विराटगरले १३४ रनमै रोक्यो र पाँच विकेटको सहज जित निकाल्यो। काठमान्डुले १५ लाख खर्चिंदै आदिल अलाम अन्सारीजस्तो ‘हार्ड हिटर’ ब्याटर भित्र्याएको थियो। तर, ‘हाइप’ धेरै बटुलेका उनी रन बटुल्न सकिरहेका छैनन्।

ओपनर बेन चार्ल्सवर्थ र जोन सिम्पसनको ब्याटिङमा मात्र निर्भर काठमान्डुलाई बलरले नै जिताइरहेका छन्। स्पिनर शाहब आलमले २४ ओभर बलिङ गर्दै १२ विकेट झारेका छन्। कप्तान करण केसीले १२ र मिलिन्दा कुमारले पनि १० विकेट लिँदै काठमान्डुलाई पछिल्ला चार खेलमा लगातार जित दिलाएका हुन्। तर, टी-२० क्रिकेट बलरले मात्र जितिने खेल होइन। ब्याटिङ पनि उत्तिकै चल्नुपर्छ।

ब्याटर भीम सार्की भन्छन्, “शाहबले चाहिएको बेला विकेट निकाल्न सक्छन्। अर्को कुरा भनेको राष्ट्रिय टोली सम्हालिसकेका प्रशिक्षक मोन्टी देसाईं हुनु हाम्रा लागि सकारात्मक पक्ष हो।”

मोन्टीले दुई वर्ष नेपाली टोली सम्हालेका थिए। उनको कार्यकालमा नेपालले एकदिवसीय मान्यता मात्र जोगाएन, पहिलोपल्ट एसिया कप र एक दशकपछि टी–२० विश्वकपमा समेत स्थान बनायो। तर, राष्ट्रिय टोलीमा मोन्टीको कप्तान बनेर खेलेका रोहितकुमार पौडेलको लुम्बिनी लायन्स नै आफ्नो विपक्षी रहेका कारण इलिमिनेटरमा काठमान्डुले दबाबयुक्त खेल खेल्न सक्छ।

शान्त लुम्बिनी

पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेको लुम्बिनी यसपालि लिगको अन्तिम खेलसम्म इलिमिनेटरको दाबेदार थिएन। चितवनविरुद्ध ६ विकेटले जित हात पारेको लुम्बिनी त्यसपछि कर्णाली याक्ससँग नौ र सुदूरपश्चिम रोयल्ससँग सात विकेटले पराजित भयो। यस्तै, काठमान्डुलाई २२ रनले नतिजा सुम्पियो। तर, जित्नैपर्ने खेलमा पोखराले काठमान्डुसँग १३ रनको हार बेहोर्नु र चितवन र साबिक विजेता जनकपुरले पनि फितलो प्रदर्शन गरिदिनुले लुम्बिनीलाई इलिमिनेटरमा पुग्ने ढोका खुल्यो।

लुम्बिनी लायन्सको टोली। तस्बिर : एनपीएल

यस यात्रामा लुम्बिनी दुई खेलाडीको हात समाउँदै अगाडि बढिरहेको छ। कप्तान रोहितले सात इनिङ्समा २०८ रन बनाएका छन् भने तीव्र बलर शेर मल्लले १० विकेट लिएका छन्। यी दुईबाहेक अन्य खेलाडीले लुम्बिनीका लागि खासै योगदान गर्न सकेका छैनन्। पछिल्ला तीन खेलमा लगातार जित हात पारे पनि लुम्बिनी अहिले शान्त देखिन्छ।

इलिमिनेटरमा काठमान्डुसँगको भिडन्त उसका लागि वास्तविक परीक्षा हुनेछ।

कप्तान रोहित भन्छन्, “जनकपुर मैदानमा अलिक राम्रो देखिएको थिएन। त्यसैले हामीलाई इलिमिनेटरमा पुग्न सहज भयो। ब्याटिङमा राम्रो गर्न सकेका छैनौँ। यसमा सुधार गर्नुपर्छ जस्तो लाग्छ।”

अहिले क्रिकेटको सबै मापनलाई एउटै तराजुमा राखेर तौलिने हो भने सबैभन्दा ठूलो सम्भावना बोकेको टोली सुदूरपश्चिम नै हो। तर, क्वालिफायर र इलिमिनेटर भनेको सतहभन्दा माथि चल्ने मनोविज्ञानको खेल हो।

यही खेलमा विराटनगर खतरा नम्बर १ का रूपमा देखिन्छ। अचानक उठ्ने र विपक्षीलाई निराश बनाउने क्षमता यो टोलीसँग छ।

काठमान्डु र लुम्बिनी यी दुवै टोलीका लागि ‘अन्डरडग’ मान्न सकिन्छ। क्रिकेटको इतिहासमा पनि सधैँ ‘अन्डरडग’ ले नै ठूलो सम्भावना बोकेको देखाउँछ। अन्ततः फाइनलको द्वार खुला छ, तर त्यस किनारमा पुग्ने बाटो एकदमै साँघुरिँदै गएको छ। आखिर क्रिकेटको सौन्दर्य भनेको नै यही हो।