काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

वेस्सन्तर जातक कथा पढ्दा लाग्छ, यसको आजको पाठमा धेरै अतिशयोक्ति पाइन्छ। तर, पनि किन बोल्दैन बौद्ध समुदाय?

२४ मंसिर २०८२
अ+
अ-

गौतम बुद्ध कुनै एक पूर्वजन्ममा सिबी देशको राजकुमारका रूपमा जन्मिएका थिए। वेस्सन्तर उनको नाउँ थियो। करुणाले ओतप्रोत उनको पहिचान नै दानवीरका रूपमा थियो। राज्यमा सुख-समृद्धि ल्याउने भनिएको शुभ श्वेत हात्तीसमेत छिमेकी राज्यका दूतहरूलाई दिएका उनी दानी स्वभावकै कारण अलोकप्रिय बन्छन्। हुँदाहुँदै राजा स्वयं राजकुमार वेस्सन्तरलाई देशनिकाला गर्नुपर्ने अवस्थामा आइपुग्छन्। देशनिकाला हुँदा राजकुमारसँगै श्रीमती मद्रा, छोरा जातक, छोरी कृष्णासँगै एउटा रथ पनि थियो। तर, रथबाट उत्रिएर जंगलतर्फ हिँड्ने बाटो आएपछि उनले रथ पनि दान गर्छन्।

दानवीर भनिएका राजकुमार वेस्सन्तरको सन्तान दानसम्बन्धी कथालाई अधिकांश बौद्धहरूले दानको उच्चतम नमुना भन्दै प्रशंसा गर्छन्। तर, मानवअधिकारको दृष्टिले यो खोटपूर्ण मात्र छैन, गौतम बुद्धद्वारा स्थापित आदर्शभन्दा पनि फरक छ।

कथाअनुसार वेस्सन्तरको दानपारमिताको प्रख्याति बढिरहेकै बेला इन्द्र गरिब ब्राह्मणको भेष बदलेर उनको कुटीमा पुग्छन्। आफू र पत्नी दुवै बूढाबूढी भएकाले घर चलाउन सकस परेकाले, दानी भनेर थाहा पाएकाले दान माग्न आएको बताउँछन्। वेस्सन्तरले दान गर्न आफूसँग केही नभएको बताएपछि ब्राह्मणले नजिकै खेलिरहेका बालबच्चालाई देखाउँछन्। वेस्सन्तरले स्वीकृति दिएपछि ब्राह्मणले डोरीले बाँधेर दास बनाई उनीहरूलाई आफूसँगै लैजान्छन्।

भोजनका लागि फलफूल खोज्न गएकी पत्नी मद्रा फर्केपछि छोराछोरी दानमा पठाइसकेको कुरा सुनेर मूर्च्छित हुन्छिन्। जब उनी होसमा आउँछिन्, त्यही बेला पुनः ती ब्राह्मण आइपुग्छन् र बालबच्चा सानै भएकाले काम गर्न नसकेको भन्दै काम गर्न सक्ने उमेरकी पत्नी नै दान गर्न आग्रह गर्छन्। वेस्सन्तर जब पत्नीलाई नै दान गर्ने सुरमा हुन्छन्, इन्द्र प्रकट हुन्छन् र उनको दानपारमिताको प्रशंसा गर्छन्।

बौद्ध धर्मदर्शनमा दानको तात्पर्य सहयोग मात्र नभएर आफूमा रहेको तृष्णा क्षय गर्ने तरिका पनि हो। दान लिनुको तात्पर्य अहं घटाउने तथा अरूको तृष्णा क्षयमा सहायक हुने हो। त्यही भएर बुद्ध बन्न गर्नुपर्ने अनेकौँ अभ्यासमा दानपारमिता पूरा गर्नु पनि एक हो।

दानपारमिताको सन्दर्भमा गौतम बुद्धले पूर्वजन्ममा गरेका अनेकौँ दानको उल्लेख बौद्ध वाङ्मयमा पाइन्छ। त्यसैमध्ये एक हो, माथिको ‘वेस्सन्तरको दानपारमिता’ जातक कथा।

दानवीर भनिएका राजकुमार वेस्सन्तरको सन्तान दानसम्बन्धी कथालाई अधिकांश बौद्धहरूले दानको उच्चतम नमुना भन्दै प्रशंसा गर्छन्। तर, मानवअधिकारको दृष्टिले यो खोटपूर्ण मात्र छैन, गौतम बुद्धद्वारा स्थापित आदर्शभन्दा पनि फरक छ।

व्यक्तिको स्वामित्व स्वयंमा निहित हुन्छ। आफूले जन्माएको भन्दैमा सन्तानको बेचबिखन गर्नु, दान दिनु मानवअधिकारविरोधी र गैरकानुनी काम हो।

बौद्ध परम्परामा जन्म र मृत्युको भवचक्रबाट पार पाएर अर्हत् हुने हैसियत राखिसक्दा पनि आफ्नो मात्र मुक्तिले के गर्नु? बरु अरूको मुक्तिमा सहायक हुनसकूँ भन्ने मनसायले पटक पटक जन्म लिँदै भविष्यमा सम्यक् सम्बुद्ध हुने संकल्प गर्नुलाई बोधिप्रणिधान भनिन्छ।

यस्तो संकल्प सम्यक् सम्बुद्धसमक्ष हुनुपर्ने र उनले ‘तिमी भविष्यमा बुद्ध हुन्छौ’ भनेर भविष्यव्याकरण गरेको हुनुपर्दछ भन्ने मान्यता छ। यसपछिको जीवनलाई नै बोधिसत्त्व जीवन भनिन्छ। बोधिसत्त्वहरू अरूको कल्याणमा जीवन अर्पण गर्न दत्तचित्त हुन्छन्, त्यसैमा सुखी हुन्छन्। बोधिसत्त्वहरूले गर्ने साधनालाई बोधिचर्या भनिन्छ।

यही संगतिअनुसार नै अर्हत् हुने हैसियत राखिसकेका सुमेधले दीपंकर बुद्धसँग बोधिप्रणिधान गरेका थिए। बौद्धमार्गीहरू उनै सुमेध अनेकौँ जन्म लिँदै बोधिचर्या गर्दै अन्ततः बोधिप्राप्त गरी गौतम बुद्ध बनेका हुन् भन्छन्। गौतम बुद्ध विभिन्न घटनाविशेषलाई लिएर आफ्नो पूर्वजीवनका कुरा सुनाउँथे र ती बोधिचर्याकै प्रसंग हुने गर्दथे। पूर्वजीवनका तिनै कुरा ‘जातक कथा’ का रूपमा प्रसिद्ध छन्।

वेस्सन्तर कथाको विरोधाभास

वेस्सन्तर दानपारमिताको कथामा भनिएझैँ दान गर्नलाई सन्तान तथा श्रीमती कुनै वस्तु होइनन्। किनकि, आफूले जन्माएको भन्दैमा त्यसको स्वामित्व र मरण जन्माउनेमा हुँदैन। व्यक्तिको स्वामित्व स्वयंमा निहित हुन्छ। आफूले जन्माएको भन्दैमा सन्तानको बेचबिखन गर्नु, दान दिनु मानवअधिकारविरोधी र गैरकानुनी काम हो।

आफ्ना हरेक कुरामा प्रश्न गर्न स्वयं बुद्धले प्रत्याभूति दिएका थिए।

राजकुमार वेस्सन्तरले आफ्ना सन्तानको दान गर्नु र श्रीमतीलाई दानका लागि संकल्प गर्नु आफ्नो अधिकारक्षेत्रबाहिर निस्केर अत्याचार गर्नु हो। वेस्सन्तरको जातक कथा भन्नुको तात्पर्य गौतम बुद्धको पूर्वजन्मको वृत्तान्त हो। तर, यो कथा बौद्ध धर्मदर्शनको मर्मअनुरूप नभएका कारण बौद्ध धर्मदर्शनमा होइन, कथाबारे प्रश्न उठाउनुपर्दछ।

जातक कथाबारेको यो प्रश्नको जवाफ सम्भवतः दुई कोणबाट आउनसक्छ। एउटा, हिजोको कथालाई लिएर आजको सन्दर्भमा प्रश्न उठाउनु उचित हुँदैन। मूल्यमान्यताहरू समयसापेक्ष हुन्छन्, बदलिरहन्छन्। उबेला मानवअधिकार हननको प्रसंग नै थिएन, त्यसकारण आजको सन्दर्भमा यो बहस निरर्थक छ।

अर्को, जातक कथामा प्रश्न गर्नु बौद्ध धर्मदर्शनविरुद्ध जानु हो।

जातक कथालाई कपोलकल्पनाका रूपमा नभई गौतम बुद्धको पूर्वजीवन र बौद्ध आदर्शका रूपमा लिने गरिन्छ। तसर्थ प्रश्न उठाउनु उचित नै हुन्छ। मूल्यमान्यताको समयसापेक्षतामा विमति राख्न आवश्यक छैन, तर बौद्ध धर्मदर्शनकै आधारमा पनि सन्तान तथा पत्नीको दानको औचित्य पुष्टि हुँदैन। मानवअधिकारको अवधारणा तुलनात्मक रूपमा नयाँ नै हो, तर यही मान्यता गौतम बुद्धले आफ्ना उपदेश तथा आचारव्यवहारमा संस्थागत गरिसकेको पाइन्छ।

जातक कथाजस्तो विषयमा प्रश्न गर्नु धर्मदर्शनविरुद्ध जानु त पटक्कै होइन। अन्य धर्ममा प्रश्न निषेध पनि गरिएको हुनसक्छ, तर बौद्ध विषयवस्तु प्रश्नको घेराबाट बाहिर हुँदैन, छलफलको विषयवस्तु बनाउन पाइन्छ। आफ्ना हरेक कुरामा प्रश्न गर्न स्वयं बुद्धले प्रत्याभूति दिएका थिए।

त्रिपिटकलगायत बौद्ध साहित्यलाई बुद्धवचनका रूपमा लिइन्छ। तर, गौतम बुद्धद्वारा देशित धर्मदर्शनकै कसीमा राखेर बौद्ध साहित्यको अनुशीलन गर्दा ती सबैलाई बुद्धवचन नै मानिहाल्नु उचित देखिँदैन।

कसैले निश्चित उद्देश्य राखेर तपस्या गर्ने, त्यसको प्रतापले स्वर्गमा इन्द्रको आसन डगमगाउने अनि इन्द्र ती व्यक्तिको साधना भ्रष्ट पार्न विभिन्न परीक्षा लिने कथा अन्य धर्मका वाङ्मयमा प्रशस्तै पाइन्छन्। वेस्सन्तरको कथा पनि बौद्ध दृष्टिकोण होइन, तिनै कथाबाट प्रभावित देखिन्छ। वेस्सन्तरको दानपारमितामा शंका छैन, तर आज हामीसँग उपलब्ध वर्णनमा अतिशयोक्ति हुनसक्नेमा आशंका छ। आश्चर्य त लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक दशकसम्म ‘बुद्धिस्ट अप्रोच टु ह्युमन राइट’ विषयको अध्यापन, बुद्ध र मानवअधिकार शीर्षकको पुस्तक लेखन/प्रकाशन र यस विषयमा दर्जनौँ कार्यक्रममा सहभागी हुँदासमेत मैले वेस्सन्तरको दानको विरोधाभासबारे बौद्ध समुदायमा कुनै छलफल भएको पाइनँ।

जातप्रथा, लैंगिक समानता, हिंसालगायत मानवअधिकार विषयक हरेक कुरामा बौद्ध दर्शनले आधुनिक मानवअधिकार अवधारणासँग आत्मसात् मात्र होइन, कतिपय सन्दर्भमा त मार्गदर्शन नै गरेको देखिन्छ। दैनिक बौद्ध जीवनमा गर्न र नगर्न भनिएका शीललगायत कुरा मानवअधिकारको प्रवर्द्धनसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। बुद्ध जीवनी, पूर्वजीवनका वर्णनमा समस्त प्राणीको अस्तित्वलाई बराबर महत्त्व दिएको पाइन्छ। बुद्धदेशित धर्मदर्शनमा पनि यही कुरा पाइन्छ।

दान भनेको आफूसँग भएको मात्र दिने हो, बिनासहमति अर्काको सम्पत्तिमा हात लगाउनु अदिन्ना अर्थात् आफूलाई नदिएको, चोरिएको, लुटिएको भनिएको छ। यसो गर्नु बौद्धजनले पालना गर्नुपर्ने पञ्चशीलमध्ये दोस्रो महत्त्वपूर्ण शीललाई भंग गर्नु हो। यो कथाले बोधिसत्त्व वेस्सन्तरले शील पालना गर्दैन भन्ने भाष्य तयार पार्छ, जुन बौद्ध धर्मको ठूलो अपव्याख्या हो।

त्रिपिटकलगायत बौद्ध साहित्यलाई बुद्धवचनका रूपमा लिइन्छ। तर, गौतम बुद्धद्वारा देशित धर्मदर्शनकै कसीमा राखेर बौद्ध साहित्यको अनुशीलन गर्दा ती सबैलाई बुद्धवचन नै मानिहाल्नु उचित देखिँदैन। बौद्ध इतिहासका विभिन्न आयाम तथा बौद्ध साहित्यको विकासक्रममा समय समयमा हुने गरेका सम्पादन, थपघट र पाठभेद प्रशस्त पाइन्छन्। बौद्ध साहित्यलाई यही आलोकमा केलाउने हो भने वेस्सन्तर जातक कथा सहजै संशयको घेरामा पर्छ।