काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्।
सञ्चारिका समूह नेपालले काठमाडौँमा बुधबार गरेको ‘लैंगिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा उनले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहने बताए।
महिला साथीहरूको दोहोरो जिम्मेवारी रहने बताउँदै उनले ‘पहिला आफू सुरक्षित रहने’ र ‘यस क्षेत्रलाई सुरक्षित राख्ने’ रहेको उल्लेख गरे। “पहिला आफू सुरक्षित रहँदै यस क्षेत्रलाई पनि सुरक्षित राख्ने दायित्व महिला पत्रकारहरूमाथि छ। त्यसैले हाम्रा सामग्री, समाचार र विषयवस्तु र पैरवीहरू डिजिटल हिसाबबाट मुक्त गर्ने किसिमका हुनुपर्यो,” उनले भने। अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उनले उल्लेख गरे।
उनले देश र समाज विस्तारै समतालाई आत्मसात् गर्दै समानताको बाटोमा अघि बढिरहेको बताउँदै आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले सकारात्मक अर्थ र परिणाम दिएको उल्लेख गरे।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेन-जी आन्दोलनको भावनाअनुरूप सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न तीव्रताकासाथ काम गरिरहेको दाबी गरे। उनले भ्रष्टाचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको पनि जानकारी दिए।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याइन्। उनले लैंगिक हिंसा मानवअधिकारको बाधक भएको उल्लेख गरिन्।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले डिजिटल हिंसाविरुद्ध सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइन्। क्रियाशील पत्रकार महिलाकी अध्यक्ष रामकला खड्का, प्रेस काउन्सिल नेपालका सदस्य नीमा काफ्लेलगायत वक्ताले कार्यस्थलको हिंसा कायमै रहेको बताउँदै डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गरे। यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्नेमा उनीहरूको जोड थियो।