‘ओलीको ठाउँमा आफू भएको भए आयोगले बोलाउनुअघि नै गएर बयान दिन्थेँ’
काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा केपी ओलीबाहेक अरुको नाम आए सहमति हुने बताएका छन्।
एमालेको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा बुधबार सम्पदाकहरूसँगको अन्तर्क्रियामा उनले ओलीबाहेक अरुको लिडरसिप आफूले स्वीकार गर्न कुनै समस्या नरहेको बताए। उनले ओलीलाई अभिभावकीय भूमिकामा संरक्षक भएर बस्न पनि आग्रह गरे। “पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्दै संरक्षक भएर बस्नुपर्छ। अहिलेको सन्दर्भमा यसो हु्न सके सहमति हुन सक्छ। ओलीले महाधिवेशनको हलमा औपचारिक रुपमा नयाँ नेतृत्वमा नाम प्रस्ताव गर्नुभयो भने सहमति हुन सक्छ,” उनले भने, “अरू हिसाबले सहमति हुँदैन। ओलीले आफू हटेर अर्को नेतालाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन।”
यस्तै उनले जाँचबुझ आयोगले बोलाउँदा पार्टी अध्यक्ष ओलीले बयान दिनैपर्ने बताए। आयोगले भनेको कुरा ओलीले नमान्नु राम्रो नहुने पनि पोखरेलको भनाइ छ। उनले भने‚ “म आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा पहिले नै गएर बयान दिने थिएँ।’
सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न जानु स्वभाविक हुने पोखरेलको भनाइ छ।
११औँ महाधिवेशनमा आफू पराजित भए पनि एमालेमै रहने उनको स्पष्टोक्ति छ। “हामी जित्छौँ भन्ने विश्वास छ, तर हारियो भने पनि माधव नेपालजी वा भीम रावलजीको जस्तो छुट्टै पार्टी खोल्ने दृष्टान्त हाम्रोमा लागू हुँदैन। हामी सधैं नेकपा एमालेकै पक्षमा रहिरहन्छौँ‚” पोखरेलले भने।
उनले प्रतिस्पर्धाबाट आउने नतिजा स्वीकार गर्न नसक्ने राजनीतिक संस्कारकै कमजोरी भएको धारणा राखे। “जित्दा मात्रै खुसी हुने होइन, हार्दा पनि स्वीकार गर्ने मानसिकता आवश्यक छ‚” उनले भने‚ “प्रतिस्पर्धा गर्नेहरूले परिणाम मान्न सक्नुपर्छ भन्नेमा हामी सचेत छौँ।” उनले ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीमा आफ्नो विमति रहेको बताए।