काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

२ पुष २०८२
अ+
अ-

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अँधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन्।

अहिलेको अवस्थामा कांग्रेस‚ कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको र विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्र रहेको थापाले जिकिर गरेका छन्।

राप्रपा नेपालमा आबद्ध पूर्वप्रहरी परिषद्को भेलालाई काठमाडौँमा बुधबार सम्बोधनका क्रममा उनले भने‚ “राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो।” त्यस्तो एकता कायम गर्न अब कति पनि ढिलो गर्नु नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको पनि स्पष्ट पारे।

उनले थपे‚ “ हामीहरुका बीचमा कुनै विवाद बाँकी छैन। एकता हुन ढिलो भइरहेकामा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकमा चिन्ता देखिन्छ। ढिलो भएको छ। तर म आशावादी छु, यो प्रक्रिया चाँडै टुंगिन्छ।” उनले राष्ट्रवादी शक्तिहरू एक भएको अवस्थामा सबैभन्दा ठूलो शक्ति आफू हुनेसमेत दाबी गरे।

पछिल्लो घटनाक्रमबाट राजसंस्था र हिन्दु राष्ट्र स्थापना हुने सम्भावना बलियो भएको उनको धारणा थियो। पूर्वप्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केही पूर्वप्रहरी राप्रपा नेपालमा आबद्ध भएका थिए।