इलाम। सूर्योदय नगरपालिका–२ बागबिरेका बाख्राको गोठमा कालो चितुवा देखिएको छ। प्रारम्भिक रुपमा यो दुर्लभ प्रजातिको चितुवा भएको आशंका गरिएको छ। तर यकिन पुष्टि हुन बाँकी छ।
स्थानिय तर्फबाट प्रहरीले जानकारी पाएपछि डिभिजन वन कार्यालयले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञ टोलीलाई उद्धारका लागि पठाउने तयारी गरेको छ। डिभिजन प्रमुख वीरेन्द्र साहका अनुसार बाहिरबाट हेर्दा यो दुर्लभ चितुवा भएको देखिन्छ। तर अध्ययनपछि मात्र प्रजातिको पुष्टि हुनेछ।
जानकारी अनुसार चितुवाले राति गोठभित्र घुसेर दुई माउ र एउटा पाठी बाख्रा खाएको थियो। इलामका सूर्योदय, माइजोगमाई र सन्दकपुरका ग्रामीण क्षेत्रहरूमा वन्यजन्तुहरूले लामो समयदेखि घरपालुवा जनावर मार्ने समस्याले स्थानीयमा त्रास बढाएको छ। सूर्योदय-२ का वडाध्यक्ष डिकबहादुर बम्जनले वन्यजन्तु गाउँ प्रवेश गरेपछि मानिसमाथि आक्रमणको डर पनि बढेको बताए।
विशेषज्ञहरूका अनुसार इलाम भारतीय सीमासँग जोडिएको भएको कारण भारतको सिंहलिला नेसनल पार्कबाट चितुवा नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ।