काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतालाई भेट्ने भएका छन् ।
मन्त्री खरेलले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै भेट्न लागेका हुन् । देउवा, ओली र प्रचण्डलाई भेट्न मन्त्री खरेल तीनै नेताको निवास जाने कार्यक्रम रहेको सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा चुनावको विषयमा छलफल हुने बताइएको छ । खरेलले सबैभन्दा पहिले देउवालाई महाराजगन्जस्थित निवासमै गएर भेट गर्नेछन् । त्यसपछि ११ बजे ओलीलाई गुण्डु निवास र प्रचण्डलाई खुमलटारस्थित निवासमै भेट्नेछन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित तीनै जना नेताहरूलाई राष्ट्रपति निवासमा छलफल गरेका थिए । निर्वाचनका सम्बन्धमा उनीहरूबीच छलफल भएको थियो ।