काठमाडौँ। छपाइ ठेक्का प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित सूचना प्रविधि अधिकृत सुनीलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायत विरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मुद्दामा जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि समेतलाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग कुल १० अर्ब १३ करोड रुपैयाँ बिगो तथा सजाय माग दाबी लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।
विभागले मंसिर २०८१ मा ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको थियो। टेन्डर प्रक्रियामा सहभागी रहेको फ्रेन्च कम्पनी आइडिमिया बाहिरिएपछि अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो।
अख्तियारले अनुसन्धानमा विलम्ब गरेको भन्दै सोही प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय सचिव असिम शाहसहितले अख्तियार पदाधिकारीलाई दबाब दिएका थिए।